अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका ४ जना नर्सलाई डेजी अवार्डबाट सम्मान गरेको हो ।
काठमाडौँ — अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ ले सम्मान गरेको छ ।
अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका ४ जना नर्सलाई डेजी अवार्डबाट सम्मान गरेको हो ।
अवार्ड पाउनेहरुमा नर्सहरु सम्झना तामाङ, नीलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन् । उनीहरुलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको छ ।
अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि मनोनयन प्रक्रिया खुला गरेको थियो । जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो । मनोनयनमा परेकामध्येबाट उत्कृष्ठ १० भित्र परेका अन्य ६ जनालाई पनि अस्पतालले सम्मान गरेको छ । उत्कृष्ठ १० मा पर्नेहरुमा नर्सहरु सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन् ।
अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिकमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ तथा पारामेडिक्स कर्मचारीलाई पनि सम्मान गरेको छ ।
अस्पतालले सोही समारोहमा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजिजका २ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरेको छ । सम्मान पाउनेहरुमा नर्सिङ कलेजकी टपर डिका बस्नेत र मौनता पोखरेल रहेका छन् ।
यसैबीच, अस्पतालले एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने घोषणा गरेको छ । प्रस्तावित संस्थानले क्यान्सर रोगको निदान, उपचार, अनुसन्धान तथा पुनः स्थापना सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको जनाइएको छ।
