प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप नेपाल पर्यटन बोर्डलाई 'पाटा दीर्घकालीन सदस्यता सम्मान' प्रदान गरिएको हो ।
काठमाडौँ — प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित 'पाटा दीर्घकालीन सदस्यता सम्मान' प्रदान गरिएको छ ।
उक्त सम्मान कोरियाको ग्योङ्जु तथा पोहाँगमा सोमबारदेखि आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले उक्त सम्मान ग्रहण गरेका थिए ।
यस सम्मानले पाटासँगको दीर्घकालीन सहकार्य, क्षेत्रीय पर्यटन सहकार्य सुदृढीकरण, दिगो पर्यटन विकास तथा विश्व पर्यटन प्रवर्द्धनप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त अवसरमा नेपालको निजी पर्यटन क्षेत्रसमेत सम्मानित भएको छ । यति ट्राभल्सलाई ६० वर्षे साझेदारीका लागि तथा सुमन पाण्डेलाई पाटा लाइफ मेम्बरका रूपमा सम्मान प्रदान गरिएको थियो ।
बुधबारसम्म चल्ने पाटा वार्षिक सम्मेलन २०२६ मा एसिया–प्रशान्त क्षेत्रका पर्यटन नेतृत्वकर्ता, नीति निर्माता, विज्ञ तथा सरोकारवालाहरूको सहभागितामा दिगो तथा उत्थानशील पर्यटनको भविष्यबारे छलफल हुनेछ ।
