मेडिसिटीले चाइम बैठक आयोजना गरी नेपाललाई चाइम भारत अध्यायमा समावेश गराउँदै स्वास्थ्य सूचना प्रविधिको विश्वव्यापी सञ्जालसँग जोडेको जनाएको छ ।
काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालले ‘चाइम’ बैठक आयोजना गरेको छ । कार्यक्रममा देशभरका १५ निजी तथा सरकारी अस्पतालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।
यससँगै नेपाल औपचारिक रूपमा ‘चाइम भारत अध्याय’को सह-सदस्य बनेको छ । अब नेपालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका अगुवाहरू विश्वव्यापी डिजिटल स्वास्थ्य सञ्जालसँग जोडिने मिडिसिटिले जनाएको छ ।
डिजिटल स्वास्थ्य नेतृत्व र स्वास्थ्य सूचना प्रविधिको विकासमा काम गर्दै आएको ‘चाइम’ विश्वव्यापी गैरनाफामूलक संस्था हो । मेडिसिटीका प्रमुख डिजिटल तथा सूचना अधिकृत तथा चाइम भारत अध्यायका सदस्य सुधाकर राईले यसलाई नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा 'चाइम नेपाल समुदाय' पनि गठन गरिएको छ ।यसमार्फत सदस्यहरूले डिजिटल स्वास्थ्य, साइबर सुरक्षा, दूरस्वास्थ्य सेवा, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र कार्यक्रमसम्बन्धी जानकारी र अवसर पाउने विज्ञप्तीमा उल्लेख छ ।
