समिटमा बिज सर्भ, स्विफ्ट फिन, कोडावतार, ग्रीन टिक र इभेन्ट मोसहित पाँच नेपाली कम्पनी सहभागी थिए ।
What you should know
काठमाडौँ — अमेरिकामा आयोजित सेलेक्ट यूएसए इन्भेष्टमेन्ट समिटमा नेपालको निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारतर्फ नयाँ संकेत देखिएको छ । अमेरिकी चेम्बर अफ कमर्स, नेपाल (एमच्याम) ले समिटमा सहभागी हुनु विश्वव्यापी आर्थिक संलग्नता बढाउने महत्त्वपूर्ण कदम भएको जनाएको छ ।
एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले नेपाली प्रतिनिधिमण्डलको सहभागिताले स्वदेशी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न मद्दत पुग्ने बताए । उनले सूचना प्रविधि क्षेत्रमा नेपाल सरकारले हालै गरेका नीतिगत सुधारहरूलाई सकारात्मक रूपमा उल्लेख गरे ।
समिटमा बिज सर्भ, स्विफ्ट फिन, कोडावतार, ग्रीन टिक र इभेन्ट मोसहित पाँच नेपाली कम्पनी सहभागी थिए । ती कम्पनीहरूले आफ्नो विस्तार योजना प्रस्तुत गर्दै नवप्रवर्तन र विश्वस्तरीय प्रतिस्पर्धी जनशक्तिमा नेपालको बढ्दो क्षमतालाई उजागर गरेका थिए ।
एमच्याम नेपालद्वारा समन्वय गरिएको र कार्यकारी निर्देशक अमिर थापाको नेतृत्वमा अघि बढाइएको यस पहलले विश्व बजारसँग जोडिन नेपालको बढ्दो तत्परता देखाएको छ । साथै निजी क्षेत्रलाई द्विपक्षीय आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा स्थापित गर्ने उद्देश्य पनि रहेको जनाइएको छ ।
मेरील्याण्डमा सम्पन्न समिटका क्रममा नेपाली कम्पनीहरूले विश्वव्यापी लगानीकर्ता, अमेरिकी सरकारी अधिकारी तथा आर्थिक विकाससम्बद्ध निकायहरूसँग बजार पहुँच, साझेदारी र दीर्घकालीन लगानी अवसरबारे छलफल गरेका थिए । निजी क्षेत्रको यस सहभागिताले नेपाल–अमेरिका सम्बन्धमा व्यापार नेतृत्वको सहकार्य अझ सुदृढ बन्दै गएको संकेत दिएको छ ।
समिटका क्रममा अमेरिकी विदेश विभाग र अमेरिकी वाणिज्य विभागसँगको उच्चस्तरीय अन्तरक्रियामा अमेरिकी पक्षले व्यापारमार्फत द्विपक्षीय सम्बन्ध बलियो बनाउने आवश्यकतामा जोड दिएको थियो । दूतावासद्वारा आयोजित कार्यक्रममा उप-सहायक सचिव बेथानी पी मोरिसनले हालैका उच्चस्तरीय भ्रमणपछि देखिएको सकारात्मक गतिलाई उल्लेख गर्दै नेपालमा अनुकूल व्यावसायिक वातावरण निर्माण र निजी क्षेत्रको विकासमा सहयोग गर्न अमेरिका इच्छुक रहेको बताइन् ।
त्यस्तै, अमेरिकास्थित नेपाली दूतावासका उप–राजदूत शरदराज आरणले नेपाली उद्यमहरूको क्षमता र विश्वव्यापी दृष्टिकोणप्रति विश्वास व्यक्त गरेका थिए ।
