शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ ।
काठमाडौँ — सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढामगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
शारीरिक रूपमा अशक्त भई दुवै हात नचल्ने सन्देशलाई शिवम् सिमेन्टले सहयोग गर्ने भएको हो ।
जन्मजात नै दुवै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएको उद्योगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल रोल्पामै रहेको विद्यालयबाट सन्देशले कक्षा ५ उत्तीर्ण गरेका छन् । तर रोल्पामा विशेष क्षमता भएका विद्यार्थीका लागि उपयुक्त अपांगमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।
शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको विज्ञप्तिमा उल्लेख छ । उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपांग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ ।
सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले केन्द्रलाई सहयोगस्वरूप उपलब्ध गराउने बताइएको छ ।
