बुद्ध एयरको ‘रोयल क्लब’मार्फत वार्षिक १६ करोडको डिस्काउन्ट प्याकेज घोषणा 

बुद्ध एयरका अनुसार प्रोमो कोडमार्फत रोयल क्लबका सदस्यले विशेष छुट पाउनेछन् भने अन्य यात्रुले पनि विभिन्न प्रकारका डिस्काउन्टको लाभ लिन सक्नेछन् ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Buddha Air announces annual discount package worth Rs 160 million through 'Royal Club'

What you should know

ललितपुर — बुद्ध एयरले आफ्नो ‘रोयल क्लब’ फ्रिक्वेन्ट फ्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गर्दै वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको डिस्काउन्ट प्याकेज सार्वजनिक गरेको छ ।

१ बैशाख २०८३ देखि लागु हुने यस योजनामार्फत बुद्धका जहाजमा नियमित उडान गर्ने  रोयल क्लब सदस्यलाई लक्षित गरी १६ करोड रुपैयाँ बराबरका विभिन्न छुट तथा सुविधा उपलब्ध गराइने कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सोमबार जाउलाखेलमा आयोजित पत्रकार सम्मेलनमा बताए । 

बुद्ध एयरका अनुसार प्रोमो कोडमार्फत रोयल क्लबका सदस्यले विशेष छुट पाउनेछन् भने अन्य यात्रुले पनि विभिन्न प्रकारका डिस्काउन्टको लाभ लिन सक्नेछन् ।

उडान समयअनुसार पनि छुट निर्धारण गरिएको छ । प्राइम टाइम र अफ टाइम उडानमा फरक–फरक दरमा यात्रुले छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

अब यात्रुहरूले उडान गर्दा ‘माइलेज प्वाइन्ट’ संकलन गर्न सक्नेछन्, जसको प्रयोग गरी भविष्यमा टिकटमा छुट वा निःशुल्क उडान लिन सकिनेछ । यसअघि रिफन्डेबल टिकटमा मात्र उपलब्ध माइलेज सुविधा अब नन-रिफन्डेबल टिकटमा पनि लागु गरिएको छ । संकलित माइलेज प्वाइन्ट प्रयोग गरी यात्रुले बुद्ध एयरको मोबाइल एप वा वेबसाइटमार्फत सजिलै टिकट बुक गर्न सक्नेछन् ।

कम्पनीले अन्य रणनीतिक साझेदारहरूसँग पनि सहकार्य विस्तार गर्ने योजना बनाएको जनाएको छ । रोयल क्लब सदस्यहरूले सुपरमार्केट, होटल, रिसोर्ट तथा अन्य सेवा क्षेत्रमा पनि छुट पाउनेछन् ।

बुद्ध एयरले दैनिक करिब ७ हजार यात्रुलाई सेवा दिँदै आएको छ । कम्पनीको वार्षिक कारोबार करिब १५ अर्ब रुपैयाँ रहेको जनाइएको छ । रोयल क्लबमा करिब १ लाख ७५ हजार सदस्य आबद्ध छन्।

कम्पनीले यात्रुहरूलाई टिकट बुक गर्दा रोयल क्लब नम्बर उल्लेख गर्न आग्रह गरेको छ, जसले माइलेज प्वाइन्ट तथा छुटको सुविधा सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ ।

कान्तिपुर

Link copied successfully