गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई पाँच करोड सहयोग

सीएसआरअन्तर्गत गोल्छा ग्रुपले किओचलाई पाँच करोड रुपैयाँ सहयोग गरेपछि सातै प्रदेशमा बाल अस्पताल निर्माण अभियानले थप गति पाएको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Golchha Group donates Rs 50 million to Children's Hospital

काठमाडौँ — औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रूपैयाँ सहयोग दिएको छ । बुधबार एक कार्यक्रमबीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले गोल्छो ग्रुपले आर्थिक सहयोग  गरेको हो ।

कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो ।

सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग पनि सहकार्य सुभारम्भ भएको गोल्छाले बताए । 'हामी हर्षित छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ,' उनले भने ।

 सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने किओचका संस्थापक अध्यक्ष कोइरालाले बताए ।

सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ । देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो ।

देशभर बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उक्तिकै अग्रसर छ । 

कान्तिपुर

Link copied successfully