अब पौवामै बास, पौवाकै खाना

स्थापनाको एक दशक मनाइरहँदा होटल पौवाका विभिन्न शाखामा गरेर २ सय ५० भन्दा बढी लगानीकर्ता छन् भने एक हजार कर्मचारी रहेका छन् ।

चैत्र १०, २०८२

दीपेन्द्र बडुवाल

Now I live in Pauwa, I eat in Pauwa.

What you should know

भैरहवा — एक दशकअघि रूपन्देहीको सालझण्डीस्थित ७ कोठे भवनबाट यात्रा सुरुवात गरेको होटल पौवा अहिले मुलुकभर फैलिएको छ । थोरै कोठाको सानो घरबाट प्रारम्भ भएको आतिथ्य यात्रा अहिले पूर्वदेखि पश्चिमका विभिन्न जिल्लामा पुगेको छ । आउँदो दशक मुलुकभर एक सय होटल र रिसोर्ट पुर्‍याउने लक्ष्यसहित आतिथ्य सञ्जाल विस्तार गरिरहेको पौवाले जनाएको छ ।   

‘हामीले बालापन पूरा गर्‍यौं,’ होटल पौवाका उपाध्यक्ष ध्रुव न्यौपानेले भने, ‘यस अवधिमा हामीले अनुभव बटुल्यौं र विश्वास पनि आर्जन गर्‍यौं ।’ एक दशकको यात्राले नै भविष्यका लागि दिशा देखाएको उनले बताए । नेपाली परम्परा र खानालाई प्रवर्द्धन गर्दै अगाडि बढ्ने क्रममा ‘पौवा’ मुलुककै प्रमुख हस्पिटालिटी ब्रान्डका रूपमा स्थापित भएको उनले दाबी गरे । बालापनको जगमा टेकेर आउँदो दशक मुलुकभर एक सय शाखा पुर्‍याउने लक्ष्य लिएको उनले बताए । 

स्थापनाको एक दशक मनाउने क्रममा पौवाले मुलुकमै संघर्ष गरेर पनि ‘नेपाली ब्रान्ड’ स्थापित गर्न सकिने जनाएको छ । ‘यो संघर्ष, समर्पण, विश्वास र उपलब्धिको इतिहास हो,’ न्यौपानेले भने, ‘यसले नेपाली श्रम र नेपाली ब्रान्डको सम्भावनालाई पनि प्रमाणित गरेको छ ।’ नेपाली परम्परा अनुसार पहिले बटुवाहरू पौवामा बास बस्थे । यस्ता बटुवा र यात्रीलाई बास बस्न सहज होस् भनेर पाटी–पौवा निर्माण गर्ने चलन थियो । ‘त्यही परम्परा आत्मसात् गरेर पौवा नाम जुराएका हौं,’ उनले भने, ‘पाहुनालाई भगवान् मान्ने संस्कारलाई अपनाएका छौं ।’

रूपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्ज, कर्णालीका जुम्ला, सुर्खेत, चितवन, काठमाडौं, सिन्धुली, पोखरा, जनकपुर, भालुवाङ,  पाल्पाको झिंगामारा, तानसेन, कैलालीको धनगढी, मकवानपुर गढी, दोलखाको कालिन्चोकलगायत पर्यटकीय गन्तव्यमा पौवाले १९ शाखा विस्तार गरिसकेको जनाएको छ । पौवाले रेस्टुरेन्ट, आवास, गार्डेन र पार्किङलाई विशेषताका रूपमा अगाडि बढाएको छ । ‘दश वर्षको छोटो समय विकासका हिसाबले संवेदनशील समय पनि हो,’ होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘हाम्रा लागि यो अवधि संस्थागत चरित्र निर्माण गर्ने अमूल्य समय बनेको छ ।’ Now I live in Pauwa, I eat in Pauwa.

उनका अनुसार विभिन्न प्रदेशमा रहेका धार्मिक धाम लक्षित गरेर होटल निर्माण गरिरहेको छ । यसले स्वदेशीसँगै भारतीय पर्यटक लाभान्वित भइरहेको भण्डारीले बताए । यसका शाखामा नेपालका ग्रामीण रैथाने खाना उपलब्ध छन् । नेपाली स्वादलाई प्रवर्द्धन गर्न हरेक वर्ष स्वाद उत्सव आयोजना गर्दै आएको छ । दशक पूरा भएको उपलक्ष्यमा चैत अन्तिम साता होटलले स्वाद उत्सव आयोजना गरेको छ । ‘पौवा होटल मात्र होइन, नेपाली स्वाद र संस्कृतिको पहिचान पनि हो,’ होटल पौवाका ब्रान्ड प्रमुख विष्णु भण्डारीले भने, ‘होटलको बनावट मात्र होइन, भित्तामा सजिएका नेपाली कलाकृति र सामग्री, परिकारको स्वाद र कर्मचारीको प्रस्तुतिमा पनि नेपाली पन झल्किन्छ ।’ पौवाले दौरा–सुरुवाललाई कर्मचारीको पोसाक बनाएको छ । 

नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न होटलले प्रत्येक चाडपर्व मनाउने गरेको छ । माघी, शिवरात्रि, तीज, दशैं, बुद्धजयन्ती लगायत चाडपर्वमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । यसले नेपालको बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक पहिचानलाई प्रवर्द्धन गर्ने भण्डारीले बताए । ‘समय–समयमा आयोजना हुने खाना महोत्सवले रैथाने परिकारलाई व्यावसायिक रूप दिने गरेका छन्,’ उनले भने, ‘नेपाली भाषा, संस्कृति र खानाको संरक्षणका लागि कार्यक्रम आयोजना गर्छौं ।’ पर्वलाई उत्सव बनाएर संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उनले बताए । होटलले आयोजना गर्ने देउसी भैलो, शिवरात्रि र सराय नाचमा सर्वसाधारण ओइरिने गरेका छन् । 

नेपालमा केही छैन भन्ने युवाका लागि होटल पौवा उदाहरण भएको भण्डारीले बताए । उनका अनुसार होटलले कर्मचारीलाई पनि मालिक बनाउने गरी समान लगानीमा जोड दिएको छ । ‘होटल पौवामा मूल लगानीकर्ता र कर्मचारीको समान हैसियत छ,’ उनले भने, ‘कर्मचारीले अपनत्व महसुस गरुन् भनेर लगानीका लागि प्रोत्साहन गरेका हौं ।’ यहाँबाट भएको कमाइ कर्मचारीले कहाँ खर्च गरिरहेका छन् भनेर निगरानी गर्ने गरेको उनले बताए । दुःख गरेर भएको कमाइ परिवारका लागि सदुपयोग गरुन् भनेर निगरानी गर्ने गरिएको उनको भनाइ छ । 

होटलले युवालाई रोजगारीमा प्राथमिकता दिएको छ । होटलका पाँचवटा विभागीय प्रमुख पनि युवा छन् । मार्केटिङ र ब्रान्डिङ जिम्मेवारीमा भण्डारी छन् । अपरेसन प्रमुखमा कृष्ण गौतम, निर्माणको पाटो इन्जिनियर प्रदीप भण्डारी, खानाको जिम्मेवारीमा देव न्यौपाने र लेखा विभाग प्रमुखमा भोजराज थापा रहेका छन् । उनीहरू सबै ३५ वर्षमुनिका हुन् । ब्रान्ड प्रमुख भण्डारीका अनुसार केही ठाउँमा पौवाले आफ्नै लगानीमा होटल निर्माण गरेको छ भने केही ठाउँमा निर्माण गरेर चलाउन समस्या भएका होटलको व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । Now I live in Pauwa, I eat in Pauwa.

प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले होटल पौवाको नारा नै ‘नेपाली आतिथ्यको सुरुवात पौवाबाट हुन्छ’ रहेको बताए । ‘पौवामै खाना खाएर पौवाकै बासलाई जोड दिएका छौं,’ उनले भने, ‘पौवाले आन्तरिक संरचना सुदृढ गर्दै, व्यवस्थापन परिस्कृत गर्दै र गुणस्तरलाई संस्थागत गरिरहेको छ ।’ पहिलो दशकले सिकाएको अनुभवले भविष्यको मार्गचित्र कोर्न सघाएको उनले बताए । ‘मिसन १०० संख्यात्मक लक्ष्य मात्र होइन, व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण पनि हो,’ उनले भने, ‘मानव संशाधन विकास र नेपाली हस्पिटालिटी ब्रान्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको बनाउने दिशामा अघि बढ्ने योजना हो ।’

अहिले होटल पौवाका विभिन्न शाखामा गरी २ सय ५० भन्दा बढी लगानीकर्ता रहेका छन् भने एक हजारभन्दा बढी कर्मचारी छन् । सुगमदेखि दुर्गमसम्म शाखा विस्तार भइसकेका छन् । यसका लगानीकर्ता विदेशमा पनि रहेका छन् । उनीहरूले आफू रहेको मुलुकमा नेपाली गन्तव्यका बारे प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धनमा भूमिका खेलिरहेको होटलले जनाएको छ । ‘पौवाको आगामी यात्रा केवल व्यवसाय विस्तार मात्र होइन,’ ब्रान्ड प्रमुख भण्डारीले भने, ‘यो त नेपाली आतिथ्य बजारलाई विश्वस्तरमा स्थापित गर्ने अभियान पनि हो ।’

दीपेन्द्र

Link copied successfully