ग्लोबल आइएमई बैंकद्वारा 'नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग' स्थापना

विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सनसम्बन्धी सेवा प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा उपलब्ध हुनेछ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Global IME Bank establishes 'Non-Resident and Overseas Banking Department'

What you should know

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले 'नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग' स्थापना गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन्।

नेपालमा पहिलोपटक सुरु गरिएको  विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राह्यताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।

यो विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सनसम्बन्धी सेवा प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा उपलब्ध हुनेछ ।

विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरूलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागको कार्यालयमार्फत विभिन्न सेवा उपलब्ध गराउने छ ।

विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरूलाई २४सैं घण्टा सेवा प्रदान गर्नेछ ।  

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै आइरहेको छ ।

बैंकले २ दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा १० भन्दा बढी देशमा रहेका बैंकका कर्मचारीमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोधविना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ  छ ।

अध्यक्ष ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन सहज हुने बताए । 

ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपालीसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको उनले बताए  ।

बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । उक्त विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरबाट सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

कान्तिपुर

Link copied successfully