एआई-नेटिभ कल सेन्टर सोलुसन 'टिङटिङ कनेक्ट' सार्वजनिक 

परम्परागत कल सेन्टर उद्योगलाई चुनौती दिँदै कम्पनीले यो अत्याधुनिक प्रविधि शून्य लागतमा उपलब्ध गराउने घोषणा गरेको छ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

AI-native call center solution 'Tingting Connect' launched

What you should know

काठमाडौँ — एआई प्रविधि कम्पनी 'टिङटिङ' ले एआई-नेटिभ कल सेन्टर सोलुसन 'टिङटिङ कनेक्ट' सार्वजनिक गरेको छ । दशकौँदेखि सिट संख्या र महँगो लाइसेन्स शुल्कमा सीमित रहेको परम्परागत कल सेन्टर उद्योगलाई चुनौती दिँदै कम्पनीले यो अत्याधुनिक प्रविधि शून्य लागतमा उपलब्ध गराउने घोषणा गरेको छ।

लामो समयदेखि पुराना प्रणालीहरूमा एआईका केही सुविधाहरू मात्र थप गर्ने अभ्यास भइरहेका बेला 'टिङटिङ'ले भने एआईलाई नै मेरुदण्ड बनाएर यो प्रणालीको विकास गरेको हो । यस प्रणालीमा इन्टेलिजेन्स नै पूर्वाधारको जगका रूपमा रहेको छ । यसले हरेक संवादलाई स्वचालित रूपमा रेकर्ड गर्ने, वास्तविक समयमा ट्रान्सक्राइब गर्ने र तत्कालै ग्राहकको भावना विश्लेषण गर्ने क्षमता राख्छ ।

परम्परागत प्रणालीमा केबल २ प्रतिशत कलको मात्र म्यानुअल गुणस्तर जाँच हुने गरेकोमा 'टिङटिङ कनेक्ट'ले शतप्रतिशत कुराकानीको विश्लेषण गरी कार्यसम्पादनमा पूर्ण स्पष्टता प्रदान गर्ने कम्पनीको दाबी छ ।

मुख्य आकर्षण 'द बक्स' नामक विशेष हार्डवेयर युनिट रहेको छ । यो हार्डवेयरको प्रयोगले कम्पनीको सम्पूर्ण संवाद र डाटाहरू आफ्नै नेटवर्कभित्र सुरक्षित रहनेछन् । कुनै वाह्य निर्भरताविना नै एआई प्रशोधन हुने भएकाले बैंक तथा सरकारी निकायहरूका लागि यो अत्यन्तै सुरक्षित र भरपर्दो मानिएको छ । नेपालको वित्तीय र सरकारी क्षेत्रका लागि 'सोभरेन एआई' को दिशामा एक क्रान्तिकारी कदम चालेको देखिएको छ ।

परम्परागत प्लेटफर्महरूले प्रति कर्मचारी शुल्क लिने अभ्यासलाई तोड्दै टिङटिङ कनेक्टले 'अनलिमिटेड एक्सटेन्सन'को सुविधा ल्याएको छ । अब व्यवसायहरूले लाइसेन्सको महँगो शुल्क तिर्नु पर्दैन, बरु आफ्नो पूर्वाधारको आवश्यकता अनुसार व्यवसाय विस्तार गर्न सक्नेछन् । सार्वजनिक कार्यक्रममा कम्पनीले भनेको छ, 'यो केवल एउटा अवधारणा मात्र होइन, यो पूर्ण रूपमा सञ्चालनमा आइसकेको प्रविधि हो ।'

विश्वस्तरीय एआई बिजनेस कम्युनिकेसन सुइट 'टिङटिङ'ले आफ्नो 'रिरी' इन्जिनमार्फत भ्वाइस, टेक्स्ट, सर्भे र एआई एजेन्टहरूलाई एउटै प्रणालीमा एकीकृत गरेको छ । डिजिटल रूपान्तरणको बाटोमा रहेका अवरोधहरूलाई हटाउन यो सोलुसन निःशुल्क उपलब्ध गराइएको हो, जसले संस्थाहरूलाई केवल कल उठाउने मात्र नभई एआई-नेटिभ इन्टेलिजेन्स मार्फत आफ्ना ग्राहकहरूलाई गहिराइमा बुझ्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully