'होलिडे इन धनगढी'मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको लगानी

कम्पनीले धनगढीस्थित क्लब चौलानी लिमिटेडमा सेयर हिस्सा लिएर परियोजनामा प्रवेश गरेको हो ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Suryajyoti Life Insurance's investment in 'Holiday in Dhangadhi'

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमकै पहिलो पाँचतारे अन्तर्राष्ट्रिय होटल ‘होलिडे इन धनगढी’ मा २५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको छ। कम्पनीले धनगढीस्थित क्लब चौलानी लिमिटेडमा सेयर हिस्सा लिएर परियोजनामा प्रवेश गरेको हो।

उक्त होटल अन्तर्राष्ट्रिय होटल समूह आईएचजी होटल्स एन्ड रिसोर्ट अन्तर्गतको होलिडे इन धनगढी  ब्रान्डमा सञ्चालन हुनेछ। यो सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल हुने बताइएको छ।

क्लब चौलानीका अध्यक्ष डा. राजेन्द्र केसीले धनगढीलाई पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय ब्रान्डको आतिथ्य सेवा विस्तारले क्षेत्रको सम्भावना थप बलियो बनाउने बताए।

होटलमा ५ प्रिमियम सुइटसहित ११५ आधुनिक अतिथि कक्ष रहनेछन्। करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक जुवाघर, ७०० क्षमताको भव्य भोजहल, छतमा स्विमिङ पुल, बहुपरिकार भोजनालय, पूर्ण रूपमा सुसज्जित व्यायामशाला तथा बैठक–सम्मेलन कक्ष रहने जनाइएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले दीर्घकालीन प्रतिफल र सुदूरपश्चिमको पर्यटन पूर्वाधार विकासमा योगदान गर्ने उद्देश्यले लगानी गरिएको बताए। उनका अनुसार यसले पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सूर्यज्योति लाइफको चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीको जीवन बिमा कोष ४ अर्ब ६१७ करोड र कुल लगानी ५ अर्ब १२० करोड रुपैयाँ पुगेको छ। देशभर १७६ शाखा सञ्जालमार्फत सेवा दिँदै आएको कम्पनीसँग १ लाख ७ हजार अभिकर्ता र ३६ लाख ३० हजार बिमालेख रहेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully