पोखरा–काठमाडौं रुटमा स्विफ्ट होलिडेजको ‘युरो–६’ लक्जरी बस

अटोवेज प्राइभेट लिमिटेडले आयात गरेको ६ वटा बस पर्यटन कम्पनी स्विफ्ट होलिडेज प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो ।

फाल्गुन १२, २०८२

दीपक परियार

Swift Holidays' 'Euro-6' luxury bus on Pokhara-Kathmandu route

What you should know

पोखरा — गण्डकी प्रदेशमा पहिलोपल्ट युरो सिक्स (बीएस सिक्स) मापदण्डको भोल्भो आइसर लक्जरी बस सञ्चालनमा आएको छ । अटोवेज प्राइभेट लिमिटेडले आयात गरेको ६ वटा बस पर्यटन कम्पनी स्विफ्ट होलिडेज प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो ।

अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपाललाई मंगलबार बसको साँचो हस्तान्तरण गरे । प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडादरमा पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रुटमा हाल ६ वटा बस सञ्चालन गरिएको छ ।

प्रति बस करिब १ करोड ३० लाख रुपैयाँ मूल्यका यी बस राज्यको नीतिअनुसार १० वर्षसम्म बिक्री गर्न नपाउने र ४० सिटको मापदण्डमा आयात गरिएका हुन् । युरो सिक्स मापदण्डका यी सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि र उच्च सुरक्षा सुविधा प्रदान गर्ने भएकाले नेपालको वातावरणमैत्री यातायातमा महत्त्वपूर्ण कदम भएको अटोवेजका अध्यक्ष नारायण पौडेलले बताए ।

स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक नेपालले कम्पनीको आठौं वर्षको अवसरमा यो बस भित्र्याएको जानकारी दिए । सन् २०१८ देखि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सेवा दिँदै आएको यस कम्पनीले अब दिवा र रात्रिकालीन सेवा विस्तार गर्ने योजना बनाएको छ । हाल करिब ४० वटा सवारी साधन सञ्चालन गर्दै आएको कम्पनीको फ्लिटमा टोयोटा कोस्टर, टोयोटा हायस, अशोक लेल्यान्ड र टाटा मोटर्सका सवारी साधन समेत रहेका छन् ।

बतास कमर्सियल भेइकल्स प्रालिको गण्डकी प्रदेश, धौलागिरि क्षेत्र तथा चितवनको अधिकृत विक्रेता अटोवेजले भविष्यमा पनि प्रविधिसम्पन्न र दिगो सवारी साधन नेपाली बजारमा भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully