स्वास्थ्य, वातावरण र कृषि समाधानका अवधारणासहित सेकेन्ड आई, रि–लिफ प्लास्टिक र टी:की बने उत्कृष्ट ।
What you should know
काठमाडौँ — इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोक क्याम्पसमा आयोजित हल्ट प्राइज प्रतियोगितामा ‘सेकेन्ड आई’ समूह विजेता बनेको छ । प्रतियोगितामा ९ टोलीलाई पछि पार्दै सेकेन्ड आईले क्याम्पस च्याम्पियनको उपाधि जितेको हो ।
सेकेन्ड आईले दुर्गम तथा अविकसित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच अभाव र रेडियोलोजिस्टको कमी समस्यालाई लक्षित गर्दै प्रविधिमा आधारित सलुसन प्रस्तुत गरेको थियो । उनीहरूको अवधारणाले दुरदराजका क्षेत्रमा समयमै र सही स्वास्थ्य परीक्षण सम्भव बनाउने लक्ष्य राखेको छ ।
विजेता सेकेन्ड आईले कुल १ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको पुरस्कार प्याकेज प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ । यसमा नगद ५ हजार रुपैयाँसहित विभिन्न संस्था तथा प्रायोजकहरूबाट छात्रवृत्ति, सामग्री र अन्य सुविधा समावेश छन् ।
प्रतियोगितामा ‘रि-लिफ प्लास्टिक’ समूह पहिलो उपविजेता बनेको छ । यस समूहले मिचाहा प्रजातिका वनस्पतिबाट वैकल्पिक प्लास्टिक उत्पादन गर्ने वातावरणमैत्री अवधारणा प्रस्तुत गरेको थियो । उनीहरूले कुल १ लाख ७ हजार ७ सय रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरे ।
त्यसैगरी ‘टी:की’ समूहले दोस्रो उपविजेता बनेको छ । शहरीकरणका कारण घट्दो खेतीयोग्य जमिनको समस्यालाई सम्बोधन गर्दै घरमै सानो स्थानमा अर्गानिक तरकारी उत्पादन गर्न सकिने पोर्टेबल प्रणाली विकास गर्ने प्रस्तावका लागि उक्त टोलीलाई ८२ हजार २ सय रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा एग्रो कुल, अक्षरा, एक्वालाइफ, मातृत्व, मेडिवो, प्रगतिशील पावर अप्टिमाइजर्स, रि-लिफ प्लास्टिक, सेकेन्ड आई र टी:की गरी ९ समूहले प्रतिस्पर्धा गरेका थिए । सहभागी समूहहरूको मूल्यांकन नवप्रवर्तन, सामाजिक प्रभाव, सम्भाव्यता, विस्तार क्षमता र प्रस्तुतीकरणका आधारमा गरिएको थियो ।
आयोजकका अनुसार कार्यक्रमले क्याम्पसमा उद्यमशीलता र सामाजिक नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुर्याएको छ । विजेता टोली अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चरणतर्फ अघि बढ्नेछ ।
