अमेरिकी विश्वविद्यालयका प्राध्यापक र एआई क्षेत्रका विज्ञले तयार पारेको पाठ्यक्रमअन्तर्गत सहभागीलाई कम्पनीको ‘माइक्रोडिग्री’ कार्यक्रममार्फत एआईसम्बन्धी सीप प्रदान गरिने कम्पनीले जनाएको छ ।
काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डेटा साइन्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले फ्युजमेसिन्स इंकले ‘फ्युजमेसिन्स एआई फेलोसिप २०२६’ (नेपाल कोहोर्ट) का लागि आवेदन खुला गरेको छ । अमेरिकी स्टक एक्सचेन्ज ‘न्यास्ड्याक’मा सूचीकृत एआई प्रविधि सेवा प्रदायक कम्पनी फ्युजमेसिन्सले सञ्चालन गर्दै आएको यो कार्यक्रमको नवौँ संस्करण भएको विज्ञप्तीमा उल्लेख छ ।
कुल ६ महिना सञ्चालन हुने फेलोसिपमा उन्नत एआई र डेटा साइन्सको ज्ञानसँगै विविध व्यावहारिक अभ्यास गराइने विज्ञप्तीमा भनिएको छ । कार्यक्रममा आईटी विद्यार्थी, प्रोग्रामिङ, गणित, कम्प्युटर साइन्स वा सफ्टवेयर विकासको पृष्ठभूमि भएका प्रोफेसन वा एआईमा रुचि राख्ने व्यक्तिले आवेदन बुझाउन सक्छन् ।
फ्युजमेसिन्सका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले भौगोलिक सीमाभन्दा पर उत्कृष्ट एआई शिक्षा उपलब्ध गराउने प्रतिबद्धताको निरन्तरताका रूपमा कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । सन् २०१७ देखि सञ्चालनमा रहेको फेलोसिपमार्फत हालसम्म १२ देशका १ हजार २ सयभन्दा बढी फेलो प्रशिक्षित भइसकेका छन् ।
दक्षिण एसियाका लागि रणनीति प्रमुख तथा प्रबन्ध निर्देशक पराग श्रेष्ठले स्थानीय प्रतिभा र अन्तर्राष्ट्रिय अवसरबीचको दूरी घटाउँदै नेपालमा बलियो एआई इकोसिस्टम निर्माणमा यो फेलोसिप लक्षित रहेको बताएका छन् । कार्यक्रममा जेनेरेटिभ एआई, मसिन लर्निङ, डीप लर्निङ, न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, प्रम्प्ट इन्जिनियरिङ र एमएलओप्सलगायत विषय समेटिएका छन् ।
