अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा छनोट भए ५ विद्यार्थी

नेपालले सन् २०१९ देखि अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नियमित सहभागिता जनाउँदै आएको छ । गत वर्ष नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

5 students selected for International Economics Olympiad

काठमाडौँ — सातऔँ नेपाल इकोनोमिक्स ओलम्पियाड सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पाँच जना विद्यार्थी छनोट भएका छन् । राष्ट्रिय चरणबाट कानव बैद, समृद्धा भट्टराई, निश्चल घिमिरे, आर्या शर्मा र आदित्य रौनियार अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडका लागि छनोट भएका हुन् ।

राष्ट्रिय चरण फागुन ६ देखि ८ गतेसम्म ललितपुरस्थित काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा आयोजना गरिएको थियो । छनोट भएका विद्यार्थीहरूले जुलाई १२ देखि २० तारिखसम्म चीनको सांघाइमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछन् । उक्त प्रतियोगितामा विश्वका ६० भन्दा धेरै देशका विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।

यस वर्षको क्षेत्रीय चरण देशभरका १४ केन्द्रमा सञ्चालन गरिएको आयोजक नेपाल इनोनमिक्स ओलम्पियाडले जनाएको छ । त्यसमा १९१ शैक्षिक संस्थाका १ हजार ४१ विद्यार्थी सहभागी थिए । एक महिनासम्म सञ्चालन गरिएको मेन्टरशिप कार्यक्रममा वित्तीय विज्ञ र अर्थशास्त्र प्रशिक्षकबाट व्यक्तिगत वित्त, आर्थिक विश्लेषण, नीतिगत अध्ययन तथा केस विश्लेषणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष डा. गुणाकर भट्टले युवालाई ज्ञान, अनुशासन र नवप्रवर्तनमार्फत राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे । विभिन्न बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले वित्तीय सचेतना, उद्यमशीलता र नीतिगत सोचबारे मार्गदर्शन दिएका थिए ।

कान्तिपुर

Link copied successfully