स्वीकृतिसँगै लिट्मस् सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको कम्पनीले जनाएको छ।
What you should know
काठमाडौँ — नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन क्षेत्रमा अग्रणी लिट्मस् इन्डस्ट्रिज लिमिटेडले पावर ग्रिड कोअप्रेशन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिको महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ ।
पीजीसीआईएल भारतको केन्द्रीय अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने निकाय हो ।
स्वीकृतिसँगै लिट्मस् सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको कम्पनीले जनाएको छ। सम्झौताअनुसार कम्पनीले ४०० केभी एसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । उक्त कन्डक्टरहरू डिडिङ्ग–ढल्केबर–बथनाहा सीमापार प्रसारण लाइनमा प्रयोग हुनेछन्, जुन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ ।
नेपालमै पहिलोपटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको कम्पनीले उल्लेख गरेको छ। परियोजना स्वीकृतिपूर्व पीजीसीआईएलले कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण संयन्त्र तथा पूर्वाधारको गहन मूल्याङ्कन गरेको थियो। त्यसपछि मात्र आपूर्तिका लागि योग्य ठहर गरिएको बताइएको छ ।
ढल्केबर–बथनाहा प्रसारण लाइन नेपाल–भारत ऊर्जा व्यापार विस्तारका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ। ९०० मेगावाट क्षमताको अरुण–३ आयोजनाले नेपालको ऊर्जा सुरक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
यसअघि लिट्मसले नेपाल विद्युत् प्राधिकरणका लागि हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनामा ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ ।
हालको स्वीकृतिले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको छ भने सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपाली उद्योगको सहभागिता सुदृढ बन्दै गएको संकेत गरेको छ ।
