बानेश्वरमा सञ्चालनमा आयो मेट्रोल्याब्सको पूर्ण डिजिटल रेफरेन्स प्रयोगशाला

मोबाइल एप ‘माई हेल्थ नाउ’ मार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट र सटीक डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न, सम्पूर्ण परिवारको स्वास्थ्य प्रोफाइल व्यवस्थापन गर्न तथा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Metrolabs' fully digital reference laboratory comes into operation in Baneshwor

काठमाडौँ — पूर्ण डिजिटल रेफरेन्स डायग्नोस्टिक प्रयोगशाला मेट्रोल्याब्स काठमाडौँको बानेश्वरस्थित बीके कम्प्लेक्सको चौथो तलामा सञ्चालनमा आएको छ । प्रयोगशालाको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्काले गरेका हुन् ।  ‍

मेट्रोल्याब्स आफ्नै स्वामित्वको मोबाइल एप ‘माई हेल्थ नाउ’ द्वारा सञ्चालित अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टममा आधारित छ। यस एपमार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट र सटीक डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न, सम्पूर्ण परिवारको स्वास्थ्य प्रोफाइल व्यवस्थापन गर्न तथा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

सेवाग्राहीको सुविधा र पहुँचलाई प्राथमिकतामा राख्दै, मेट्रोल्याब्सले निःशुल्क घरमै नमुना संकलन सेवा पनि उपलब्ध गराउँदै आएको छ, जसले बारम्बार प्रयोगशाला जानुपर्ने आवश्यकता हटाई निरन्तर र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने मेट्रोल्याब्सले जनाएको छ । मेट्रोल्याब्स नेपालकै पहिलो रेफरेन्स प्रयोगशाला र पूर्ण रूपमा स्वचालित टोटल ल्याब अटोमेसन रोबोटिक प्रणाली प्रयोग गरिएको दाबी गरिएको छ ।

हाम्रो प्राथमिकता गुणस्तरीय, सटीक र समयमै उपलब्ध हुने डायग्नोस्टिक सेवा रहेको मेट्रोल्याब्सका प्रबन्ध निर्देशक शंकर देवकोटाले बताए । ‘माई हेल्थ नाउ मार्फत हामीले परीक्षण बुकिङदेखि घरमै नमुना संकलन, स्मार्ट डिजिटल रिपोर्ट र आजीवन डायग्नोस्टिक अभिलेखसम्मको सेवालाई पूर्ण रूपमा सेवाग्राही-केन्द्रित बनाएका छौँ,’ उनले भने, ‘मेट्रोल्याब्स प्रविधि, शुद्धता र विश्वासयोग्य सेवामार्फत स्वास्थ्य क्षेत्रमा भरोसा निर्माण गर्न प्रतिबद्ध छ।' यस परियोजनाको पहिलो चरणको लगानी १० करोड रुपैयाँ रहेको समेत उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully