युथ सिभिक लञ्चप्याड आगामी माघ २७ देखि फागुन १ सम्म बर्दिबासमा आयोजना हुनेछ ।
काठमाडौँ — बर्दिबास नगरपालिकासँगको सहकार्यमा युवाहरूलाई सचेत, जिम्मेवार र नेतृत्वक्षम नागरिकका रूपमा विकास गर्ने उद्देश्यले युथ सिभिक लञ्चप्याड २०८२ सञ्चालन हुने भएको छ । आगामी माघ २७ देखि फागुन १ सम्म बर्दिबासमा आयोजना हुने भएको हो ।
चार दिने यस कार्यक्रम कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले डिजाइन थिंकिङ, नागरिक चेतना, सार्वजनिक नीति प्रक्रिया, बिलदेखि विधेयक हुँदै कानून बन्ने प्रक्रिया, समावेशीता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवहारिक र अन्तरक्रियात्मक सिकाइ प्राप्त गर्नेछन् ।
कार्यक्रमको आयोजना बर्दिबास नगरपालिकाको सहकार्य तथा सहसमन्वयमा मन्जिल बस्नेत, कृति कार्की, अब्बल ढकाल, समिप श्रेष्ठ, शैलेश आचार्य र सुप्रिया अधिकारी सम्मिलित युवा नेतृत्व टोलीद्वारा गरिएको हो । कार्यक्रम रोट्र्याक्ट क्लब अफ बर्दिबास र युथ फर चेन्ज बर्दिबाससँगको सहकार्यमा सञ्चालन हुँदैछ ।
आयोजक पक्षका अनुसार, बर्दिबास नगरपालिकासँगको सहकार्यले कार्यक्रमलाई स्थानीय आवश्यकता, नीति प्रक्रिया र युवा सहभागितासँग प्रत्यक्ष रूपमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यस सहकार्यले युवाहरूलाई स्थानीय शासन संरचना बुझ्ने, नीति संवादमा सहभागी हुने र समुदायमा सकारात्मक परिवर्तनको नेतृत्व गर्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो विद्यालय तथा समुदायमा नागरिक पहल सुरु गर्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा समावेशी सोचसहित सामाजिक समस्याको समाधानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
