यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन अटोमोबाइल, संगीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरी कुल १६ विधामा अवार्ड प्रदान गरिने
What you should know
काठमाडौँ — कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका बिजनेस प्रमुख सागर केसी तथा मार्केटिङ म्यानेजर अनुपम अधिकारीबीच बिहीबार कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।
आगामी फागुन ७ मा इटहरीको सोल्टी वेस्टर्न होटलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक-सांस्कृतिक पहिचान प्रवर्द्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड–२०२६ आयोजना हुँदै छ ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।
यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन अटोमोबाइल, संगीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरी कुल १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए ।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, प्रविधि र इन्स्योरेन्सलगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उनले बताए ।
अवार्डलाई थप विश्वसनीय र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।
निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढगंले अघि बढाइरहेको उनले जानकारी दिए ।
कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष–२०८२’ को तयारी अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
अध्यक्ष अधिकारीका अनुसार कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको छ । अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने बताइएको छ ।
