कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल इन्क प्रविधि प्रयोग गरी टायल उत्पादन गर्दै आएको छ ।
What you should know
काठमाडौँ — लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा टायल्सले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका दुवै उत्पादनलाई एनएस ६१७ः२०८२ मापदण्डको गुणस्तरको चिन्ह प्रदान गरेको हो ।
उक्त चिन्ह प्राप्त गरेसँगै नेपालको सेरामिक उद्योगले महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार लामिनार टायल्सले विभागबाट पूर्ण भिट्रिफाइड टायल्स (समूह बि वान ए) श्रेणीको गुणस्तर चिन्ह प्राप्त गरेको हो भने क्रेस्टा टायल्सले पोर्सिलिन टायल्स (समूह बि वान बि) श्रेणीको मान्यता प्राप्त गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले उक्त चिन्ह प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । उनका अनुसार पूर्ण भिट्रिफाइड र पोर्सिलेन दुवै श्रेणीमा एनएस ६१७ प्रमाणीकरण प्राप्त हुनु नेपाली सिरेमिक उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो । 'नेपाल गुणस्तर चिन्ह प्राप्त हुनुले टायलको गुणस्तर मापनका लागि स्पष्ट, वैज्ञानिक र राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड स्थापित गरेको छ,' उनले भने, 'साथै पारदर्शी वर्गीकरण र प्रमाणीकरणमार्फत किफायती मूल्यमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन दिन सक्ने हाम्रो क्षमतालाई पनि प्रमाणित गरेको छ ।'
अन्तर्राष्ट्रिय बजारमा पूर्ण भिट्रिफाइड टायल्सलाई उच्च गुणस्तरको श्रेणीमा राखिन्छ । एनएस ६१७ चिन्ह प्राप्त भएपछि कम्पनीका उत्पादनप्रति उपभोक्ताको विश्वास अझ बलियो हुनुका साथै स्वदेशी उत्पादनको खपत बढ्ने र आयात प्रतिस्थाापनमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
लामिनारका पूर्ण भिट्रिफाइड टायल्सलाई न्यून पानी सोस्ने टायस्ल हो । जसका कारण टायल्समा दाग लाग्ने, रङ फिका हुने समस्या हुँदैन भने घर्षणका कारण पनि कुनै असर पर्दैन । यसप्रकारका टायल्स विशेष गरी घरका भूइँ, पर्खाल र बढी चहलपहल हुने, पानी पर्ने स्थान, बालकोनी तथा पार्किङ लगायतका क्षेत्रका लागि उपयुक्त मानिन्छन् ।
साथै कम्पनीले उत्पादन गरेको क्रेस्टा टायल्स घर तथा व्यावसायिक स्थानका लागि किफायती मानिन्छन् । भूइँ र पर्खाल दुवैमा प्रयोग गर्न मिल्ने यी टायल्स टिकाउ हुनुका साथै आधुनिक डिजाइनमा पनि उपलब्ध भएको कम्पनीको भनाइ छ । पानी कम सोस्ने गुण भएकाले पोर्सिलेन टायल्स लामो समयसम्म टिकाउ हुन्छन् ।
कम्पनीले उपभोक्ताका लागि सहज होस् भन्ने उद्देश्यले टायल्सलाई वर्गीकरण समेत गरेको छ । यसबाट उपभोक्ताले सहजै कुन टायल कहाँ प्रयोग गर्ने ? कस्तो गुणस्तरको प्रयोग गर्ने ? कुन मूल्यको प्रयोग गर्ने भन्ने जानकारी लिन पाउनेछन् ।
यसैगरी, एनएस ६१७ मापदण्ड प्राप्त टायल्स सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । कम्पनीका अनुसार प्रत्येक टायलको छेउमै त्यसको समूह वर्गीकरण उल्लेख गरिएको हुनेछ । टायल जडान गर्नु अघि नै ग्राहक, मिस्त्री वा परियोजना हेर्ने व्यक्तिले टायलको प्रकार आफैं जाँच गर्न सक्ने भएकाले गलत जानकारी वा छलकपटको सम्भावना निकै कम हुने विश्वास गरिएको छ ।
लामिनार र क्रेस्टा दुवै टायल कम्पनीको बर्दियास्थित कारखानामा उत्पादन हुँदै भइरहेका छन् । कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल इन्क प्रविधि प्रयोग गरी टायल उत्पादन गर्दै आएको छ ।
कम्पनीका अनुसार टायल देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध छन् । साथै, काठमाडौँको उत्तरढोकास्थित ‘लामिनार एक्सपिरियन्स सेन्टर’मा पनि टायल अवलोकन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
