टेकस्प्रिन्ट ह्याकाथनको उपाधि 'भिजनरी' समूहलाई, पेनिट्रेसन च्यालेन्जमा 'टिम बाइपास' विजेता

भिजनरी' समूहले 'रिडएआर' नामक प्रोजेक्ट बनाएका थियो ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

'Visionary' team wins TechSprint Hackathon title, 'Team Bypass' wins Penetration Challenge

काठमाडौँ — भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा ‘साइबर सेक्युरिटी सिम्पोजियम २०२६ र टेकस्प्रिन्ट ह्याकाथन’ सम्पन्न भएको छ । यस प्रतिस्पर्धामा देशभरका इन्जिनियरिङ विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । टेकस्प्रिन्ट ह्याकाथन विधामा सनवे कलेजको ‘भिजनरी’ समूहले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । यस समूहमा संकेत श्रेष्ठ, प्रशान्त अधिकारी, प्रियाना खत्री र स्मृति बस्नेत रहेका थिए ।

प्रतियोगितामा ‘ट्यारोट’ समूह प्रथम रनर-अपका रूपमा २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । आयुष श्रेष्ठ, अभिषेक श्रेष्ठ, विष्णु शर्मा र अश्विनी सेढाईं सम्मिलित यस समूहले ‘सब्सिडी गार्ड’ नामक एआईमा आधारित प्रणाली विकास गरेको थियो । यसैगरी ‘ह्याक द थ्रोन’ समूह दोस्रो रनर-अप हुँदै १५ हजार रुपैयाँ जित्न सफल भयो । मिराज भट्टराई, सफल तामाङ, फेमस ढुंगाना र अभिश्रेन्त खत्रीको यस टोलीले क्यूआरमा आधारित डिजिटल शैक्षिक रिपोर्ट प्रणाली प्रस्तुत गरेको थियो ।

कार्यक्रममा ‘एक्स ह्याक’ समूह उत्कृष्ट प्रस्तुतकर्ता बन्यो । समूहले ५ हजार रुपैयाँ पुरस्कार जित्यो । अभिषेक पन्थी, एलिन तिमिल्सिना, रमण श्रेष्ठ र किरण पौडेलको यस समूहले ‘प्रुफ्ली एआई’ प्रोजेक्ट प्रदर्शन गरेको थियो । यस विधाका विजेताहरू नेपाल इन्जिनियरिङ कलेज, थापाली क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, टेक्सस इन्टरनेसनल लगायतका थिए । 

त्यस्तै, एनसीएचएल पेनिट्रेसन च्यालेन्ज विधामा ‘टिम बाइपास’ विजेता बन्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस समूहमा निदान पौडेल, रिजन पौडेल, आवर्त केसी, सरंस रौनियार, इस्वर्ण काफ्ले, दिनेश सिंह कार्की र प्रशान्त गिरी सहभागी थिए । कलेजका प्रिन्सिपल दुर्गा प्रसाद भण्डारी र प्रमुख अतिथि शालिग्राम पराजुलीले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । 

कान्तिपुर

Link copied successfully