शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौंमा सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ — लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम आधिकारिक रूपमा सुरु गरेको छ ।
शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौंमा सञ्चालन गर्न लागिएको र निकट भविष्यमै देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको जनाएको छ । लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनहरूका लागि विशेष रूपमा सीप सुधार कार्यक्रम तयार गरिएको हो । यसले कम्पनीले आफ्ना ग्राहकप्रति राखेको जिम्मेवारी र योगदानको प्रतिबिम्ब देखाउँछ ।
यो पहलमार्फत लिट्मसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित विद्युतीय अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । बीस दिने तालिम कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा ध्यान केन्द्रित गरिनेछ ।
यसमा औद्योगिक विद्युतीय वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् ।
इलेक्ट्रीशियनहरूको दक्षता अभिवृद्धि गरी सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत् सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यो तालिम सीटीईभीटीसँग आबद्ध बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको लिट्मसले जनाएको छ । यसबाट संरचित, उद्योग–सम्बन्धित र मापदण्डयुक्त प्राविधिक शिक्षा सुनिश्चित हुने बताइएको छ ।
कार्यक्रमको औपचारिक सुरुआत लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठबीच भएको हस्ताक्षर समारोहमार्फत गरिएको हो ।
यो पहल तालिम मात्र नभई समाज र ग्राहकप्रतिको हाम्रो जिम्मेवारी रहेको लिट्मस इन्डस्ट्रिजकी निर्देशक साक्षी गुप्ताले बताइने । 'लिट्मस सधैं आफ्ना ग्राहकसँग उभिएको छ र उभिरहनेछ,' उनले भनिन्, 'शिक्षा र सीप विकाससम्बन्धी यस कार्यक्रममार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत् स्थापनालाई प्रवर्द्धन गर्नेछौं । काठमाडौंबाट सुरु गरिएको यो तालिम देशभर विस्तार गर्न पाउँदा हामी गर्वान्वित छौं ।'
लिट्मस इन्डस्ट्रिजजस्तो प्रतिष्ठित कम्पनीसँग यो महत्वपूर्ण पहलमा सहकार्य गर्न पाउँदा अत्यन्त खुसी भएको बालाजु स्कुलका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठले बताए । 'यो कार्यक्रमले इलेक्ट्रीशियनहरूको सीप, व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा वृद्धि गरी समाजमा सकारात्मक प्रभाव पार्नेछ,' उनले भने ।
