कार्यक्रममा टेकस्प्रिन्ट ह्याकाथन, पेनिट्रेसन टेस्टिङ प्रतियोगिता, साइबर सुरक्षा कार्यशाला, नीति संवाद र विषय विज्ञहरूमाझ प्यानल छलफल भएका थिए ।
काठमाडौँ — सुरक्षित डिजिटल पूर्वाधार र प्रभावकारी नीतिगत व्यवस्थाबिना डिजिटल नेपालको परिकल्पना सम्भव नहुने निष्कर्षसहित भक्तपुरमा आयोजित ‘साइबर सेक्युरिटी सिम्पोजियम तथा टेकस्प्रिन्ट ह्याकाथन २०२६’ सम्पन्न भएको छ ।
नेपाल इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले आयोजना गरेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहआयोजनामा सम्पन्न कार्यक्रम ‘कोड फर डिजिटल नेपाल’ भन्ने राष्ट्रिय थिममा केन्द्रित थियो ।
सिम्पोसियममा साइबर सुरक्षा, डिजिटल सुशासन, एआई नीति, डेटा सुरक्षा, फिनटेक सुरक्षा, ब्लकचेन, क्लाउड पूर्वाधार र नवप्रवर्तनजस्ता विषयमा नीति निर्माता, विज्ञ, शैक्षिक क्षेत्र, उद्योग र विद्यार्थीबीच छलफल भएको थियो । सहभागीहरूले सफ्टवेयर निर्माण, थ्रेट इन्टेलिजेन्स, एथिकल ह्याकिङ र एआई आधारित साइबर सुरक्षा सोलुसनबारे अभ्यास गरेको आयोजकले जानकारी दिएका छन् ।
समापन समारोहमा स्टुडेन्ट्स सोसाइटीका अध्यक्ष कोमल अधिकारीले नेपाल डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका बेला प्रभावकारी नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याए । डिजिटल सुशासन नीति, राष्ट्रिय साइबर सुरक्षा नीति, डेटा प्रोटेक्सन तथा गोपनीयता नीति, एआईसम्बन्धी कानुन, फिनटेक सुरक्षा निर्देशिका तथा क्लाउड सुरक्षा मापदण्डले डिजिटल नेपालको आधार तय गर्ने उनको भनाइ थियो ।
