फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतियोगितामा मलैसा आचार्य विजेता, फस्ट रनरअप सारा लामा र सेकेन्ड रनरअप अपि योन्जन चयन भएका हुन् ।
काठमाडौँ — एसवाई इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतियोगितामा मलैसा आचार्य विजेता भएकी छन् । शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा कुल दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
एसवाई प्यानल, एसवाई कस्मेटिक, एसवाई बजार र एसवाई युपिभिसीको ब्रान्ड प्रचारका लागि आयोजना गरिएको प्रतियोगिता नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट हो। एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईले यस प्रतियोगिताको पुरस्कार नेपालकै मिस नेपाल प्रतियोगिताभन्दा बढी रहेको बताए।
कार्यक्रममा मुख्य तीन जना ब्रान्ड एम्बेसडर चयन गरिएको थियो। टाइटल विनर मलैसा आचार्यलाई पाँच लाख नगद पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको कन्ट्रयाक्ट प्रदान गरिएको छ।
फस्ट रनरअप सारा लामा र सेकेन्ड रनरअप अपि योन्जन चयन भए। उनीहरूलाई क्रमशः चार लाख र तीन लाख नगद पुरस्कारसहित ५० लाख र ३० लाख रुपैयाँ बराबरको कन्ट्रयाक्ट दिइनेछ। बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डका रूपमा प्रतिव्यक्ति डेढ लाख रुपैयाँ दिइएको छ।
प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा सहभागीहरूले एसवाई थिममा भिडियो बनाएर डिजिटल अडिसनमा भाग लिनु परेको थियो। उत्कृष्ट ५०० जनालाई दोस्रो चरणमा अगाडि बढाइएको थियो।
दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइयो। अन्तिम चरणमा सहभागीहरूको मूल्यांकन सामाजिक सञ्जाल र निर्णायकबाट गरिएको थियो।
प्रतियोगितामा महिला–पुरुष दुवैले भाग लिन पाएका थिए। सहभागीहरूले एसवाई बजार र एसवाई कस्मेटिकको फेसबुक, इन्स्टाग्राम तथा टिकटक फलो गरी क्रियटिभ भिडियो तयार गर्नुपर्ने व्यवस्था थियो।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो। यस कम्पनीअन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेजलगायतका कम्पनी नेपालमा सञ्चालित छन्।
