१५ देखि १८ जनवरी २०२६ सम्म फिनल्यान्डको हेलसिन्की एक्स्पो एन्ड कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नेपालको सहभागिता भएको हो ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला 'माट्का २०२६' मा आफ्नो सहभागिता जनाएको छ ।
१५ देखि १८ जनवरी २०२६ सम्म फिनल्यान्डको हेलसिन्की एक्स्पो एन्ड कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नेपालको सहभागिताले साहसिक, प्रकृतिमैत्री, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा नेपालको पहिचान थप मजबुत बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए ।
मेलामा नेपालले विशेष राष्ट्रिय प्याभिलियनमार्फत आफ्नो उपस्थिति जनाएको छ । जसले पर्यटक, पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूबाट उल्लेखनीय आकर्षण पाएको दाबी गरिएको छ । उत्तर युरोपेली यात्रुहरूमा आधिकारिक र जिम्मेवार यात्रा अनुभवप्रतिको बढ्दो रुचिलाई लक्षित गर्दै नेपालको विविध पर्यटन सम्भावनाहरू त्यहाँ प्रस्तुत गरिएको हो ।
नेपाली प्याभिलियनमा एसियन एडभेन्चर ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, हिमालयन विन्डोज प्रालि, स्नोई होराइजन ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, गोरेटो ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, अर्थबाउन्ड एक्सपेडिसन प्रालि, हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, द एभरेस्ट होलिडे, क्विन बी ट्राभल असिस्टेन्स र वन्डरल्यान्ड ट्राभल्स नेपाल लगायतका अग्रणी नेपाली पर्यटन कम्पनीहरूको सहभागिता रहेको थियो। यी कम्पनीहरूले ट्रेकिङ, पर्वतारोहण, सांस्कृतिक भ्रमण तथा व्यक्तिगत रूपमा तयार गरिएका यात्रा प्याकेजहरूसहित नेपालका वर्षभरिका पर्यटन उत्पादनहरूको मेलामा प्रवर्द्धन गरेका थिए ।
मेला अवधिभर बोर्ड तथा सहभागी नेपाली कम्पनीहरूले नर्डिक क्षेत्रका पर्यटन व्यवसायी र उपभोक्तासँग नेपालको पयर्टनबारे छलफल गरेका थिए । यस क्रममा हवाई कनेक्टिभिटी, यात्रा मौसम, दिगोपन तथा अनुभवमूलक पर्यटनप्रति बढ्दो चासोका विषयमा संवाद भएको बोर्डले जनाएको छ । विशेषगरी ट्रेकिङ, पर्वतारोहण, बाहिरी साहसिक गतिविधि र सांस्कृतिक अनुभवका लागि नेपाल फिनिस तथा नर्डिक यात्रुहरूको रोजाइको गन्तव्यका रूपमा पुनः स्थापित गराउन सकिने बोर्डले जनाएको छ ।
माट्का २०२६ मा भएको यस सफल सहभागिताले फिनल्यान्ड तथा समग्र नर्डिक क्षेत्रसँग पर्यटन सहकार्यलाई थप मजबुत बनाउने, नयाँ व्यावसायिक साझेदारीका अवसरहरू खोल्ने र साहस, संस्कृति तथा दिगोपनको सुन्दर संयोजनका रूपमा नेपालको छवि अन्तर्राष्ट्रिय बजारमा अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
माट्का २०२६ को सफल समापनसँगै नेपाल पर्यटन बोर्डले प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्दै उच्च मूल्ययुक्त, जिम्मेवार र अनुभवमूलक यात्रा गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने आफ्नो प्रयासलाई निरन्तरता दिएको स्पष्ट भएको छ ।
