काठमाडौं उपत्यकाका कुल १ हजार ६ सय ५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने विषयमा समझदारी भएको हो ।
What you should know
काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई पाँच वर्षे तालिमका लागि समझदारी भएको छ ।
काठमाडौँ उपत्यकाका कुल १ हजार ६ सय ५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने विषयमा समझदारी भएको हो ।
दीर्घकालीन रणनीतिक समझदारी पाँच वर्षका लागि हुनेछ । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ उद्घाटन कार्यक्रमका अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ। ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणमा आगामी माघ ४ देखि १७ दिनसम्म तालिम सञ्चालन हुनेछ । प्रत्येक सत्रमा एक सय जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ ।
तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड जेस्चर सीपलगायत विषय समेटिएका छन् ।
