नेपाल टेलिकमले सीम प्रयोगकर्ताले ग्राहक सेवा केन्द्रमा क्यूआर कोड स्क्यान गरेर आफ्नो नाम र विवरण अद्यावधिक गर्न सकिने परीक्षण प्रक्रिया सुरु गरेको छ ।
काठमाडौँ — नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाई केवाईसी प्रणालीको परीक्षण शुरु गरेको छ । यसमा प्रयोगकर्ताले क्युआर कोडबाट लिंक प्राप्त गरी केवाईसी अपडेट गर्न सक्ने टेलिकमले जनाएको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुरु गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसबाट सीम प्रयोगकर्ताले आफ्नो नाम वा अन्य विवरण सच्याउन ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । हाल पहिलो चरणको परीक्षणको क्रममा क्यूआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुने कम्पनीले जनाएको छ ।
टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले सोसम्बन्धी परीक्षण कार्य शुभारम्भ गरेका हुन् । सो अवसरमा मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भुमिका खेल्न बताए । बागमती प्रादेशिक निर्देशनालय यादवले भने थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा प्रभाव पर्ने विश्वास व्यक्त गरे । दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने बताए ।
