अब क्यूआर कोडबाटै नेपाल टेलिकमको ग्राहक विवरण अद्यावधिक सेवा

नयाँ व्यवस्थाअनुसार हाल नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकले ग्राहक सेवा केन्द्रमा राखिएको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन्। सो विवरण नेपाल टेलिकमको प्रणालीमार्फत प्रमाणित गरी अद्यावधिक गरिनेछ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Now Nepal Telecom's customer details update service via QR code

काठमाडौँ — नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका ग्राहक विवरण क्यूआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। दूरसञ्चार कार्यालय, सुन्धाराबाट उक्त सेवाको पहिलो चरणको परीक्षण सुरु गरिएको हो।

परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरेका हुन्।

व्यावसायिक अधिकृत मातन्छेले नयाँ प्रणालीले ग्राहक सेवामा सहजता ल्याउने र नेपाल टेलिकमको सेवालाई थप ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे। प्रादेशिक निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न गर्न सकिने भएकाले यसले कम्पनीको उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने बताए।

दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस कार्यप्रणाली र ग्राहक विवरण अद्यावधिकमा उक्त प्रणाली सहयोगी हुने उल्लेख गरे।

नयाँ व्यवस्थाअनुसार हाल नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकले ग्राहक सेवा केन्द्रमा राखिएको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन्। सो विवरण नेपाल टेलिकमको प्रणालीमार्फत प्रमाणित गरी अद्यावधिक गरिनेछ।

पहिलो चरणमा क्यूआर कोड स्क्यानमार्फत मात्र विवरण भर्न सकिने व्यवस्था गरिएको छ। परीक्षण सफल भएपछि नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपमार्फत पनि ग्राहक विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिने टेलिकमले जनाएको छ।

हाल सुन्धारास्थित कार्यालयबाट परीक्षण सुरु गरिएको यो सेवा आगामी दिनमा क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय तथा उपत्यका बाहिरका कार्यालयहरूमा समेत विस्तार गरिनेछ।

कान्तिपुर

Link copied successfully