माजोङ क्यासिनोले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ ।
पर्सा — वीरगन्जमा शुक्रबार रातिदेखि क्यासिनो माजोङ सञ्चालनमा आएको छ । यहाँस्थित स्काइलाइन मलस्थित होटेल सरोवर पोर्टीको परिसरमा क्यासिनो माजोङले सेवा सञ्चालन गरेको हो ।
क्यासिनो माजोङ वीरगञ्जका महाप्रबन्धक सीताराम बानियाँका अनुसार भारतीय पर्यटकलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याइएको हो । यसअघि काठमाडौं र नेपालगञ्जमा पनि क्यासिनो माजोङ सञ्चालनमा छन् ।
‘क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभललगायत व्यवसायमा उनको लगानी छ। यो क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको व्यवस्थापन पक्षको दाबी छ।
उक्त क्यासिनोले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । क्यासिनोमार्फत नेपालको पर्यटन विकासमा योगदान दिएको कदरस्वरूप भारतको हस्पिटालिटी इन्डियाले क्यासिनो माजोङलाई लगातार दक्षिण एसिया स्तरको प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।
‘वीरगञ्ज नेपालको प्रमुख व्यापारिक र औद्योगिक सहर हुनुका साथै रक्सौल नाकाबाट बर्सेनि लाखौं भारतीय पर्यटक वीरगञ्ज हुँदै नेपाल भित्रिन्छन् । उनीहरूलाई नै लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको महाप्रबन्धक बानियाँ बताउँछन् । यो समेत गरी वीरगन्जमा चारवटा क्यासिनो सञ्चालनमा छन् ।
