सामसङ इनोभेसन क्याम्पस नेपालद्वारा एआई र बिग डेटा कार्यक्रम सम्पन्न, कोडिङको नयाँ ब्याच सुरु

कार्यक्रममार्फत सहभागी विद्यार्थीलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र उदीयमान प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको थियो ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Samsung Innovation Campus Nepal completes AI and Big Data program, new batch of coding begins

What you should know

काठमाडौँ — सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले एआई तथा बिग डेटा सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत जुन २७ देखि डिसेम्बर ३० सम्म सञ्चालन गरिएको उक्त कार्यक्रमसँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच पनि सुरु गरिएको सामसङले जनाएको छ ।

कार्यक्रममार्फत सहभागी विद्यार्थीलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र उदीयमान प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको थियो । तालिम पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ ।

२०२३ देखि सामसङको विश्वव्यापी कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) दृष्टिकोण ‘टुगेदर फर टुमारो इनएबलिङ पिपुल’ अनुरूप सञ्चालन हुँदै आएको सामसङ इनोभेसन क्याम्पसले युवालाई भविष्य–तयार सीप प्रदान गर्दै नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको विकासमा जोड दिँदै आएको छ ।

कार्यक्रमको समापन समारोहमा एआई तथा बिग डेटा कार्यक्रमबाट स्नातक भएका विद्यार्थीको उपलब्धि उत्सव मनाइयो । साथै, एसआईसीको पाठ्यक्रमअन्तर्गत सुरु हुन लागेको कोडिङ तथा प्रोग्रामिङ कोर्सका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो । उक्त पाठ्यक्रमले प्राविधिक तालिमसँगै डिजिटल साक्षरता, सिर्जनशीलता, समस्या समाधान क्षमता र रोजगारीयोग्यता अभिवृद्धिमा केन्द्रित रहने जनाइएको छ ।

सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले युवालाई नेपालको भविष्यको नवप्रवर्तनको प्रमुख आधारका रूपमा हेर्ने गरिएको बताए । 'युवालाई भविष्य–तयार सीपले सुसज्जित गर्नु शिक्षामा मात्र सीमित विषय होइन, यो देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो,' उनले भने । एआई तथा बिग डेटा कार्यक्रमका स्नातकसँगै कोडिङ र समस्या समाधानमार्फत नेपालको डिजिटल क्षमतालाई थप सुदृढ बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

सामसङ इनोभेसन क्याम्पसको पाठ्यक्रम प्राविधिक ज्ञानमा मात्र सीमित नरही आवश्यक सफ्ट स्किल्ससँग जोडेर तयार गरिएको छ । यसले विद्यार्थीलाई वास्तविक कार्यस्थलमा आवश्यक पर्ने सहकार्य, सिर्जनशीलता र समस्या समाधान क्षमतामा सक्षम बनाउने उद्देश्य राखेको छ ।

कार्यक्रमको प्रमुख विशेषता व्यवहारिक परियोजना अंश हो । यसअन्तर्गत विद्यार्थीलाई सामाजिक रूपमा सान्दर्भिक तथा वास्तविक जीवनका चुनौती समाधान गर्ने परियोजना डिजाइन गर्न मार्गदर्शन गरिन्छ । एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स (आइओटी) तथा कोडिङ र प्रोग्रामिङ प्रयोग गरी विद्यार्थीले ह्यान्ड्स–अन अनुभव हासिल गर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुन एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङमा आधारभूत ज्ञान आवश्यक पर्ने व्यवस्था गरिएको सामसङले जनाएको छ । यस पहलले युवालाई भविष्य–तयार सीप प्रदान गर्नुका साथै नेपालमा नवप्रवर्तनमैत्री प्रविधि इकोसिस्टम निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully