नेपाल टेलिकमले ल्यायो वाइफाई-६ राउटर

वाइफाई ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Nepal Telecom launches WiFi-6 router

काठमाडौँ — नेपाल टेलिकमले वाइफाई ६ राउटर (सीपीई) र एपी (एक्सेस प्वइन्ट) उपलब्ध गराउने भएको छ । वाइफाई ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।

टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर र एपी उपलब्ध गराउने जनाएको छ । 

टेलिकमले हाल वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेको थियो । नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनुका साथै इन्टरनेटको स्पिड तीव्र हुने कम्पनीको दाबी छ । ‘धेरै डिभाइस कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डेटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ,’ विज्ञप्तीमा भनिएको छ ।  

यसमा वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछन् । इन्डिभिजुअल प्याकेजअन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेजमध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । 

त्यसैगरी, प्रिमियम प्याकेजअन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज वन्ली, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डेटा समेत उपलब्ध हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully