ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

समझदारीअनुसार बैंकले पुष्प व्यवसायी वा कृषक लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ । फ्लोरिकल्चर एसोसिएसनले आफ्नो सदस्यलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी दिनेछ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Global IME Bank to provide greenhouse loans for flower farming

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएसन नेपालबीच पुष्प खेती तथा आलंकारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोगका लागि सहज कर्जा प्रणालीको विकास गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा बैंकका इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ। फ्लोरिकल्चर एसोसिएसनले आफ्नो सदस्यलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी दिनेछ ।

यसबाट व्यवसायी तथा कृषकको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवर्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ ।

यो सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

बैंक र एसोसिएसनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

कान्तिपुर संवाददाता

Link copied successfully