कान्तिपुर डेन्टल कलेज १८ वर्ष पूरा

कलेजमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस), मास्टर इन डेन्टल सर्जरी (एमडीएस) र बी.एस्सी. इन ल्याबोरेटरी मेडिसिन कार्यक्रम सञ्चालनमा छन्।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Kantipur Dental College completes 18 years

What you should know

काठमाडौँ — दन्त उपचार र चिकित्सा शिक्षा क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कलेजले शैक्षिक, चिकित्सकीय गतिविधि तथा सम्मान कार्यक्रमसहित वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।

सन् २००७ डिसेम्बर १६ मा काठमाडौं विश्वविद्यालयको पहिलो दन्त कलेजका रूपमा स्थापना भएको यो कलेज धापासी–बसुन्धरामा अवस्थित छ। कलेजको मुख्य उद्देश्य नेपालमै गुणस्तरीय दन्त उपचार, शिक्षा र अनुसन्धानको सुविधा उपलब्ध गराउनु हो। हाल कलेजमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस), मास्टर इन डेन्टल सर्जरी (एमडीएस) र बी.एस्सी. इन ल्याबोरेटरी मेडिसिन कार्यक्रम सञ्चालनमा छन्। 

कलेज तथा अस्पतालमा हाल करिब ५० विभिन्न विधामा अध्ययन–अध्यापन भइरहेको छ भने २२५ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थापना कालदेखि नै शिक्षा, उपचार र अनुसन्धानलाई समानान्तर रूपमा अघि बढाउँदै आएको कलेजले हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिसकेको छ।

अस्पतालले हालसम्म १ लाख ५० हजारभन्दा बढी बिरामीलाई दन्त स्वास्थ्य सेवा दिएको छ भने पछिल्लो एक वर्षमै २० हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।

प्राचार्य प्रा. डा. रविन्द्र मान श्रेष्ठले कलेजले दन्त शिक्षा र उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आधुनिक प्रविधि, अनुसन्धानमुखी शिक्षण र दक्ष जनशक्ति उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। अस्पतालकी निर्देशक डा. प्रतिक्षा श्रेष्ठले सेवा प्रभावकारिता बढाउन सम्पूर्ण सेवा डिजिटलाइजेसन गर्ने तयारी भइरहेको बताइन्।

संस्थापक डा. बुद्धिमान श्रेष्ठका अनुसार स्वदेशमै गुणस्तरीय दन्त शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको हो। कलेज अन्तर्गत ओरल एण्ड मेक्सिलोफेसियल ट्रमा सेन्टर, स्पेशल निड्स ओरल हेल्थ सेन्टर, न्यूरोमस्कुलर डेन्टिस्ट्री र एस्थेटिक सेन्टर सञ्चालनमा छन्।

वार्षिकोत्सवमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता थियो। सो अवसरमा दीर्घ योगदान पुर्‍याएका कर्मचारी र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको छ। कलेजले भविष्यमा सेवा, शिक्षा र अनुसन्धानलाई अझ सुदृढ बनाउँदै स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully