साझेदारीअनुसार टेलिनेट नेपालमा सेल्सफोर्सको स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ।
काठमाडौँ — रमेश कर्प समूहअन्तर्गतको टेलिनेट र कस्टमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) कम्पनी सेल्सफोर्सबीच सहकार्य भएको छ । सहकार्यसँगै नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरण थप तीव्र हुने अपेक्षा गरिएको छ ।
साझेदारीअनुसार टेलिनेट नेपालमा सेल्सफोर्सको स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ। यससँगै नेपाली व्यवसायहरूले सेल्सफोर्स प्लेटफर्मका प्रमुख टुलहरू प्रयोग गर्न सक्नेछन् भने स्थानीय स्तरमै परामर्श, तालिम र प्राविधिक सहयोग पाउनेछन्।
टेलिनेटका अनुसार सहकार्यले व्यवसाय सञ्चालनका परम्परागत अभ्यासलाई आधुनिक बनाउँदै विश्वस्तरीय डिजिटल समाधानको पहुँच विस्तार गर्नेछ। बिक्री, ग्राहक सेवा, सहकार्य र डेटा विश्लेषणजस्ता क्षेत्रमा सेल्सफोर्सका समाधान उपयोग गर्न सहज हुने कम्पनीले जनाएको छ।
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले टेलिनेटसँगको सहकार्यबाट नेपालमा कम्पनीको उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए। 'एजेण्टिक एआईको युगमा नेपाली व्यवसायहरू डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका छन्। हामी उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धिमा सहयोग गर्न प्रतिबद्ध छौं,' उनले भने।
टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाकुर सूदले विश्वस्तरीय डिजिटल उपकरणको पहुँच अभाव नेपाली व्यवसायका लागि चुनौती रहँदै आएको उल्लेख गरे। 'अब त्यो अवस्था बदलिँदैछ। टेलिनेटले स्थानीय विशेषज्ञता, प्रशिक्षण र अनुकूलित समाधानमार्फत एआई–आधारित विश्लेषणदेखि सहज सहकार्यसम्मका सेवा उपलब्ध गराउँदै व्यवसायको वृद्धिमा सहयोग गर्नेछ,' उनले भने।
कम्पनीहरूका अनुसार प्रारम्भिक चरणमा बैंकिङ, दूरसञ्चार, सेवा र अन्य प्रमुख आर्थिक क्षेत्रलाई लक्षित गरी परामर्श, तालिम र छिटो कार्यान्वयन सेवा प्रदान गरिनेछ, जसबाट मापनयोग्य व्यावसायिक परिणाम हासिल गर्ने लक्ष्य राखिएको छ।
