सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८० प्रतिशत बिजुली माग पूरा हुने, विद्युत् खर्च ६५ प्रतिशतले घट्ने तथा प्रयोगविहीन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा
काठमाडौँ — यशोदा फुड्सले सौर्य ऊर्जामा आधारित रहेर नुडल्स उत्पादन गर्ने भएको छ ।
कपिलवस्तुस्थित चन्द्रौटाको आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना सफलतापूर्वक जडान गर्दै कम्पनीले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको जनाइएको छ ।
‘यो सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८० प्रतिशत बिजुली माग पूरा हुने, विद्युत् खर्च ६५ प्रतिशतले घट्ने तथा प्रयोगविहीन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको कम्पनीको दाबी छ । ‘हामी समग्र यशोदा फुड्स परिवार सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ । यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई सञ्चालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुने कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले जनाए । ‘यसले २ हजार टन सीओटू उत्सर्जन बचत गर्नेछ । यसले उत्पादन लागत घटाउने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौं,’ उनले भने ।
