लक्ष्मी सनराइज बैंकको 'डिजिटल डिसेम्बर २०२५' अभियान सुरु

डिसेम्बर महिनाभर चल्ने यस अभियानमार्फत बैंकले आफ्ना डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायका कारोबारका लागि प्राथमिक माध्यमका रूपमा स्थापनाको लक्ष्य लिएको छ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Lakshmi Sunrise Bank's 'Digital December 2025' campaign launched

What you should know

काठमाडौँ — लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण 'डिजिटल डिसेम्बर २०२५' सुरु गरेको छ। यस वर्षको अभियान 'उद्यम सशक्तिकरण' नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटल रूपान्तरणमा केन्द्रित रहेको बैंकले जनाएको छ।

डिसेम्बर महिनाभर चल्ने यस अभियानमार्फत बैंकले आफ्ना डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायका कारोबारका लागि प्राथमिक माध्यमका रूपमा स्थापनाको लक्ष्य लिएको छ। उपभोक्ता–केन्द्रित अघिल्ला संस्करणपछि यस वर्ष उद्यम–केन्द्रित डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण फड्को रहेको बैंकको भनाइ छ।

उद्यम लक्षित यस अभियानले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संस्था, संघ–संस्था, खुद्रा तथा थोक व्यापार, सूचना–प्रविधि, वित्त, स्वास्थ्य सेवा, शिक्षा तथा आतिथ्यलगायतका क्षेत्रका व्यवसायलाई समेट्ने उद्देश्य राखेको छ।

अभियानले उद्यमीलाई डिजिटल बैंकिङका माध्यम प्रयोगमा सक्रिय बनाउँदै उच्च मूल्यका नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरण गर्ने, र एपीआई तथा ‘होस्ट–टु–होस्ट’ जडानमार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा प्रवर्द्धन गर्नेछ। साथै भुक्तानी प्रक्रियामा सरलता ल्याउने समाधानहरूमा पनि यो अभियान केन्द्रित रहनेछ।

 बैंकले व्यवसायमैत्री डिजिटल सेवाहरूलाई प्रोत्साहन गरिरहेको छ । अनलाइन कारोबारका लागि भिसा र मास्टरकार्डमार्फत निर्बाध भुक्तानी प्राप्त गर्ने सुविधा, कर्पोरेट संस्था तथा कर्मचारीका लागि ‘अन कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) र भिसा क्रेडिट कार्ड सेवा दिइरहेको छ ।

व्यवस्थित व्यापारिक कारोबारका लागि ‘कर्पोरेटपे’ तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) एकीकृत सेवा र  रियल–टाइम भुक्तानी सूचना सहित व्यापारिक भुक्तानी प्राप्तिका लागि ‘लक्ष्मी वाणी’ (क्युआर आवाज बाकस सेवा दिइरहेको छ ।

अभियानमा सहभागी व्यवसायी तथा उद्यमीले डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ सुविधा, छुट, विशिष्टिकृत सेवा तथा अग्राधिकार सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

‘डिजिटल डिसेम्बर २०२५’ ले उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको नेतृत्वलाई थप सुदृढ बनाउने बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स विभाग प्रमुख सुमन प्रसाद गेलाले बताए ।  डिजिटल पूर्वाधारको प्रभावकारी प्रयोगमार्फत व्यवसायलाई सशक्त बनाउँदै पारदर्शी, सुरक्षित र उत्पादक अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेको उनले सुनाए ।

उनका अनुसार यो पहल डिजिटल बैंकिङमा बैंकको अग्रणी भूमिकालाई अझ मजबुत बनाउँदै नेपालमा डिजिटल मैत्री तथा डिजिटल–सक्षम व्यावसायिक वातावरण विस्तारको प्रयासलाई समर्थन गर्नेछ।

कान्तिपुर संवाददाता

Link copied successfully