नेपालभित्र र विदेशबाट पनि भुक्तानी गर्न सकिने
What you should know
काठमाडौँ — एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नयाँ पेमेन्ट गेटवे सुरु गरेको छ । देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको बैंकले जनाएको छ ।
उक्त पेमेन्ट गेटवेले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउने संस्थाले जनाएको छ । सो गेटवेमार्फत व्यवसायीहरू तथा नेपालभित्र तथा अन्य देश जुनसुकै बैंकले जारी गरेका भिजा/मास्टरकार्डमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन् । उक्त सेवा नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई व्यवसाय विस्तार गर्न ठूलो मद्दत पुग्ने बैकले जनाएको छ ।
पेमेन्ट गेटवेमा 'थ्री डी सेक्योर' प्रविधि समावेश गरिएको छ । यसले कारोबारको प्रमाणीकरण (भेरिफिकेसन) का लागि (वोटीपी) वा पासवर्ड आवश्यक पर्ने र कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँने बैंकले जनाएको छ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यो सहकार्य ई-कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छ । बैंकले सबैको लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको बताएको छ । आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
एनएमबी बैंकले हाल देशभर २ सय २ शाखा, १ सय ८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गदै आइरहेको बैंकले जनाएको छ ।
