आर्टुडियो पाटन विङको शुभारम्भ, अटिजम भएका २१ युवाका कलाकृति प्रदर्शनीमा

गत शुक्रबार सुरु भएको प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएका छन्।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Art Studio Patan Wing inaugurated, artworks of 21 youth with autism on display

What you should know

काठमाडौँ — आर्टुडियोले पाटनको नकबाहिलमा नयाँ विङ सुरु गरेको छ । आर्टुडियोले विङ शुभारम्भका अवसरमा (अन)सिन नामक पप–अप प्रदर्शनीसमेत गरेको छ ।

गत शुक्रबार सुरु भएको प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएका छन्। 

आर्टुडियोका संस्थापक कैलाश के श्रेष्ठद्वारा क्युरेट गरिएको प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको आर्टुडियोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आकार फाउन्डेसनसँगको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाको परिणामस्वरूप (अन)सिनको जन्म भएको विज्ञप्तिमा जनाइएको छ र्। यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन्।

प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छन्, जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रङ, अमूर्त आकार, लय र दृश्य संरचनाहरूमार्फत प्रस्तुत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ । 

(अन)सिन शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाहरूभित्र छुटिरहेको हुन्छ। प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन आग्रह गर्ने कार्यक्रममा बताइयो ।

‘(अन)सिन अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो,’ क्युरेटर कैलाश के श्रेष्ठले भने, ‘उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ, जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन् ।’  

आर्टुडियोको पाटन विङ उद्घाटनका अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमेत सहभागी थिए । पाटन आफैंमा एउटा विशाल संग्रहालय रहेको र यो कलाको मन्दिरका रुपमा परिचित रहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully