‘प्रोटोन इमास-७’ एसयूभीको बिक्री विराटनगरबाट सुरु 

६ रंगका भेरियन्टमा उपलब्ध प्रोटोन इमास–७ नेपालमा दुई मोडलमा ल्याइएको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Sales of 'Proton Emas-7' SUV begin in Biratnagar

What you should know

विराटनगर — देशभर विभिन्न कम्पनीका इलेक्ट्रिक सवारी (इभी) भित्रिइरहेका बेला अन्तर्राष्ट्रिय रूपमा स्थापित ब्रान्ड ‘प्रोटोन इमास–७’ एसयूभीको बिक्री विराटनगरबाट सुरु भएको छ ।  शंकर समूहअन्तर्गत जगदम्बा मोटर्स प्रालिले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सुविधा सहितको शोरुम सञ्चालनमा ल्याउँदै औपचारिक रूपमा बिक्री आरम्भ गरेको हो । 

विराटनगरको कञ्चनबारी चोकबाट उत्तर–पूर्व तर्फ नयाँ शोरुमको उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा नाडा कोशीका अध्यक्ष डिल्लीराम आचार्य, पूर्वअध्यक्ष सुवास आचार्य, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भेटवाल तथा स्थानीय अटोमोबाइल व्यवसायीहरूको उपस्थिती उल्लेखनीय रहेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष भेटवालले विराटनगर सधैं नवप्रवर्तन र विकासमा अघि रहने बजार भएकाले यहाँबाट सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।  उनका अनुसार नयाँ थ्रीएस शोरुममार्फत ग्राहकलाई उत्कृष्ट सेवा, आधुनिक प्रविधि तथा उचित मूल्य उपलब्ध गराउँदै कोशी प्रदेशमा ‘इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम’ निर्माण गर्न कम्पनी प्रतिबद्ध छ । 

कम्पनीले दक्ष प्राविधिक, भरपर्दो सेवा सुविधा तथा स्पेयर पार्ट्स उपलब्धता प्रमुख प्राथमिकता हुने पुनः दोहोर्‍याएको छ । प्रोटोन इमासले सफा, स्मार्ट र दिगो सवारी समाधान प्रदान गर्ने दाबी पनि गरिएको छ । ६ रंगका भेरियन्टमा उपलब्ध प्रोटोन इमास–७ नेपालमा दुई मोडलमा ल्याइएको छ । 

बिजनेस प्रमुख आकाश थापाका अनुसार प्रिमियम भेरियन्टः रु ६७ लाख ९९ हजार, प्राइम भेरियन्टः रु ५६ लाख ९९ हजार छ । जिली ग्रुपको लगानी रहेको मलेसियन ब्रान्ड प्रोटोनको यो ईभी विश्व बजारमा निरन्तर सफल हुँदै आएको बताइन्छ ।

कान्तिपुर

Link copied successfully