६० दिनपछि पुनः सञ्चालनमा आयो चन्द्रागिरि केबलकार तथा रिसोर्ट 

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Chandragiri Cable Car and Resort reopen after 60 days

काठमाडौँ — चन्द्रागिरि केबलकार तथा रिसोर्ट  शनिवार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुरु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ । 

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो। त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलार्इ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

सेवा पुनः सुरु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले धन्यवाद दिए । भक्तजन र पर्यटकहरूको धैर्यताप्रति पनि उनले आभार व्यक्त गरे । सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई उनले पुनः स्वागतसमेत गरेका छन् । 

सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । 

कान्तिपुर

Link copied successfully