नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि कर्णाली याक्सले प्लम्बर पाइप्ससँग प्रायोजन सम्झौता गरिसकेको छ, जसले टोलीलाई थप सशक्त बनाएको छ।
What you should know
काठमाडौँ — कर्णाली याक्स स्पोर्ट्स प्रालिले स्ट्रेन्थ पार्टनरका रूपमा प्लम्बर पाइप्ससँग सहप्रायोजनका लागि सम्झौता गरेको छ । आइतबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी २०७१ सालदेखि नेपालमा ल्याएको हो । सम्झौता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको हो ।
प्लम्बर पाइप्सका डाइरेक्टर नीरज जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय भएको बताएका छन् । ‘प्लम्बर पाइप्स प्लम्बिङ प्रणालीका लागि एक प्रसिद्ध ब्रान्ड हो । नेपालको अग्रणी प्लम्बिङ ब्रान्ड प्लम्बर पाइप्सले कर्णाली याक्ससँग प्रायोजकका रूपमा हात मिलाएको छ,’ कम्पनीका डाइरेक्टर जालानले भने, ‘हाम्रो देशको प्रमुख खेलकुद प्रतियोगिता एनपीएल र कर्णाली याक्ससँग जोडिनु गर्वको कुरा हो । यसबाहेक हामी हाम्रो देशमा खेलकुदको उन्नतिमा योगदान पुर्याउने आशा गर्छौँ ।’
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
यसअघि कर्णाली याक्सले विदेशी खेलाडीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ ।
कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा याक एन्ड यति तथा सहप्रायोजकमा नेबिकोसँग सम्झौता गरिसकेको छ ।
