संघ र विश्वविद्यालयबीच भएकाे सम्झौतापछि १,३०० भन्दा बढी सहकारीका किसानले नयाँ अभ्यास, अनुसन्धान, तालिम तथा परियोजनामा सहकार्य गर्ने भएका छन्।
What you should know
काठमाडौँ — कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार संघ र संघको सञ्जालमा रहेका १ हजार ३ सयभन्दा बढी सहकारी संस्थाका सदस्य किसानहरूले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल गरेका उपलब्धि आदानप्रदान गर्ने र आगामी दिनमा अपनाउन सकिने नवीन अभ्यासमा सहकार्य गर्ने भएका छन्।
सम्झौतामा संघका महाप्रबन्धक रुद्र बहादुर श्रेष्ठ र विश्वविद्यालयका तर्फबाट प्रा.डा. शारदा थपलियाले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् संघका अध्यक्ष खेम बहादुर पाठक र विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक शिवचन्द्र ढकालले यो सम्झौता नेपालको कृषि र पशुपालन क्षेत्रको विकासमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
सम्झौतामा दिगो कृषि, बीउ उत्पादन, जलवायु परिवर्तन अनुकूलन, सहकारी विकास, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, विपद् जोखिम व्यवस्थापन, खाद्य सुरक्षा, जैविक खेती, कृषि पर्यटन, उद्यम विकास, बजार, नवीकरणीय ऊर्जा अनुसन्धान, नीति वकालत र ज्ञान–सूचना प्रवाह जस्ता विषयमा संयुक्त परियोजना निर्माण र कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी सहकारी सदस्य, किसान, संघका कर्मचारी तथा विश्वविद्यालयका संकाय र कर्मचारीहरूका लागि प्रविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
सम्झौताअनुसार विश्वविद्यालयका विद्यार्थीहरूलाई संघसम्बद्ध सहकारीहरूमा अनुसन्धान, थेसिस, इन्टर्नसिप र तालिमका अवसर प्रदान गरिने र संयुक्त अनुसन्धानपछि जर्नल प्रकाशनमा सहकार्य गरिनेछ।
सम्झौता पत्रमा कृषि–खाद्य प्रणाली, कृषि सहकारी र ग्रामीण रूपान्तरणसँग सम्बन्धित नीति संवाद, सेमिनार र कार्यशाला सञ्चालन गर्ने उल्लेख छ। साथै, कृषि, वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, कृषि र वन क्षेत्रका विशेषज्ञता, तथ्यांक र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
