पोखरामा हुवावेको चार्जिङ स्टेसन

स्टेसनमा ५ वटा चार्जर रहेको र त्यसमा एकैपटक १० वटा गाडी चार्ज गर्न सकिने छ ।

भाद्र २१, २०८२

अनुप पौडेल

Huawei charging station in Pokhara

कास्की — पोखरामा ४ सय किलोवाट क्षमताको विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । गाडी चार्ज प्रालिसँगको साझेदारीमा क्लिन इनर्जी प्रालिले शनिबारदेखि पोखरा महानगरपालिका–८ सिमलचौरमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

स्टेसनको गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले उद्घाटन गरे । पोखरामा पहिलोपटक यो चार्जिङ स्टेसनमा चिनियाँ कम्पनी हुवावेको अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । २ करोड ४ लाख लगानीको चार्जिङ स्टेसनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ५० प्रतिशत अनुदान सहयोग गरेको छ ।

स्टेसनमा ५ वटा चार्जर रहेको र त्यसमा एकैपटक १० वटा गाडी चार्ज गर्न सकिने सञ्चालक इन्दिरा शर्मा भण्डारीले बताइन् । उनकाअनुसार ३ वटा डुअल गन जीबी/टी डिस्पेन्सरले २ सय ४० किलोवाट क्षमतासहित ६ वटा गाडी एकैपटक चार्ज गर्न सक्छन् । बाँकी २ वटा चार्जर डुअल गन सीसीएस–टु चार्जर हुन् । त्यसबाट ८०–८० किलोवाटका ४ वटा सवारी चार्ज गर्न मिल्नेछ । 

समयअनुसार भ्याटसहित प्रतियूनिट १० देखि १५ रुपैयाँसम्म चार्जिङ शुल्क निर्धारण गरिएको भण्डारीले बताइन् । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म १४ रुपैयाँ, बेलुका ५ बजेदेखि ११ बजेसम्म १५ रुपैयाँ र राति ११ बजेदेखि बिहान ५ बजेसम्म १० रुपैयाँ प्रतियूनिट शुल्क निर्धारण गरिएको छ । कम्तीमा २५ मिनेटदेखि १ घण्टाभित्र कारदेखि बससम्म चार्ज गर्न सक्ने क्षमता रहेको भण्डारीले सुनाइन् । 

अनुप पौडेल

Link copied successfully