निक्की-आईआईटी रुड्की सहकार्यले नवीकरणीय ऊर्जा विकासलाई टेवा दिने विश्वास

सम्झौता अनुसार एसियाकै पुरानो इन्जिनियरिङ कलेज इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्कीले आफ्नो ‘सस्टेनेबल एनर्जी सेन्टर’ मार्फत निक्कीका सदस्यलाई अध्ययन, अध्यापन तथा कार्यशालामा सहभागिता गराउनेछ ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

The Nikkei-IIT Roodkee collaboration is believed to support renewable energy development

What you should know

काठमाडौँ — नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्की (आईआईटी रुड्की) ले सौर्य, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, माइक्रो ग्रीड, क्षमता अभिवृद्धि तालिम तथा उद्योग-शैक्षिक संस्थाबीच सहकार्यका आपसी सहमति भएका अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

निक्कीका महानिर्देशक केएम सिंह र आईआईटी रुड्कीका डिन प्रा. विवेककुमार मलिकले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एसियाकै पुरानो इन्जिनियरिङ कलेज इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्कीले आफ्नो ‘सस्टेनेबल एनर्जी सेन्टर’ मार्फत निक्कीका सदस्यलाई अध्ययन, अध्यापन तथा कार्यशालामा सहभागिता गराउनेछ ।

निक्कीले सम्भावित विद्यार्थीलाई नवप्रवर्तनशील प्रविधितर्फ आकर्षित गर्न आईआईटी रुड्कीमा ह्याकाथन र प्रदर्शनी आयोजना गर्न सहयोग गर्नेछ । यस्ता कार्यक्रम समयानुकूल र आपसी सहमति अनुसार हुनेछन् ।

सम्झौता हस्ताक्षरपछि निक्कीका अध्यक्ष सुनिल केसीले भने, 'आगामी दिनमा निक्कीका लागि अझ बलिया र भरपर्दा साझेदार आवश्यक छन् । उद्योग र शैक्षिक क्षेत्रबीचको खाडललाई निक्कीले देशभित्र र विश्वकै उत्कृष्ट संस्थासँग सहकार्य गरेर पुलको काम गरिरहेको छ ।'

उनले थपे, 'निक्की–आईआईटी रुड्की सहकार्यले नेपालको गेम–चेञ्जर ऊर्जा क्षेत्रमा ठूलो टेवा पुर्‍याउनेछ । यसले नवीकरणीय ऊर्जा विकासलाई अघि बढाउनेछ । लगानी बढेसँगै दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले यस सहकार्यले नेपालको आर्थिक वृद्धिमा पनि योगदान पुर्‍याउनेछ ।'

द्विदेशीय चेम्बर निक्कीले नेपाल र भारतका सरकारी तथा गैरसरकारी निकायसँग काम गर्दै दुवै देशका उद्यमी र प्रमुख सरोकारवालालाई जोड्ने काम गरिरहेको छ । यसले रणनीतिक साझेदारी र उपक्रमको स्थापना तथा निरन्तरतामा सहयोग पुर्‍याउँदै आएको छ ।

आईआईटी रुड्कीले आफ्ना संकाय तथा प्रयोगशालामा रहेका शैक्षिक तथा अनुसन्धान र विकास स्रोतलाई उद्योग तथा अन्य प्रयोगकर्तासँगको परियोजना सम्झौता अनुसार परिणाम विकास र वितरणमा प्रयोग गर्दै आएको छ । सम्झौता अनुसार निक्की र आईआईटी रुड्कीबीचको सम्बन्ध दुवै संस्थाका लागि लाभदायी हुने बताइएको छ ।

सन् १८४७ मा रुड्की कलेजका रूपमा सुरु भएको आईआईटी रुड्की एसियाको पहिलो इन्जिनियरिङ कलेज हो । नेपालका पहिलो पुस्ताका अधिकांश इन्जिनियर पनि यही संस्थाबाट शिक्षित भएका छन् । भारतको प्रविधिगत विकास, औद्योगिक वृद्धिदेखि पूर्वाधार, जलस्रोत, ऊर्जा र दिगोपनासम्बन्धी नीतिनिर्माणसम्ममा आईआईटी रुड्कीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कान्तिपुर

Link copied successfully