कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए
What you should know
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको महासंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।
जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवर्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा उनले जोड दिए ।
जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहसमेत गरे । 'नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,' उनले भने ।
भेटमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । नेपालसँग आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने उनकाे प्रतिबद्धता छ ।
यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यावसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् ।
