शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बिमा 'शिखर स्वास्थ्य सुरक्षा' सुरु

व्यक्तिगत तथा परिवारका सबै सदस्यको बिमा गर्न मिल्ने 'शिखर स्वास्थ्य सुरक्षा' योजनाअन्तर्गत २० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गर्न सकिनेछ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

New health insurance 'Shikhar Health Suraksha' launched by Shikhar Insurance

काठमाडौँ — शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सार्वजनिक गरेको छ । मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त योजनाको औपचारिक शुभारम्भ गरिएको हो ।

व्यक्तिगत तथा परिवारका सबै सदस्यको बिमा गर्न मिल्ने यस योजनाअन्तर्गत २० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गर्न सकिनेछ । हाल नेपालमा उपलब्ध स्वास्थ्य बिमा योजनामा सीमित रकमसम्मको मात्र सुरक्षा पाइँदै आएको सन्दर्भमा, बढ्दो उपचार खर्चलाई ध्यानमा राख्दै शिखर स्वास्थ्य सुरक्षाले २० लाख रुपैयाँसम्मको बिमा सुविधा दिने भएकाले यसलाई उपयुक्त विकल्पका रूपमा रहने कम्पनीले जनाएको छ ।

शिखर इन्स्योरेन्ससँग आबद्ध अस्पतालमा भर्ना भई उपचार गर्दा नगदरहित (क्यासलेस) स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ । बिमा रकमको १० प्रतिशत (अधिकतम १ लाख रुपैयाँसम्म) बाहिरंग उपचार खर्चमा समेत दाबी गर्न सकिने व्यवस्था गरिएको छ । ‘नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गर्दा आफैंले खर्च तिर्नु पर्दैन । उक्त खर्च शिखर इन्स्योरेन्सले प्रत्यक्ष अस्पताललाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाअन्तर्गत अस्पताल भर्ना उपचारमा ३० दिनसम्मको प्रि-हस्पिटलाइजेसन र ६० दिनसम्मको पोस्ट–हस्पिटलाइजेसन खर्चसमेत बिमाले व्यहोर्नेछ । साथै, अस्पताल भर्ना नगरी गरिने १५० भन्दा बढी डे–केयर उपचार र नवजात शिशुको अस्पताल भर्ना उपचारसमेत यसैअन्तर्गत कभरेज हुने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully