१६ विद्यालयबीच ‘एडु किकअफ’ फुटसल प्रतियोगिता

प्रतियोगिता वेबेस्टर विश्वविद्यालय र अन्य संस्थाको सहकार्यमा हुँदैछ । विजेताले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

”Edu Kickoff” futsal competition between 16 schools

काठमाडौँ — शैक्षिक परामर्श संस्था अल्फा बिटाले १६ विद्यालयबीचको प्रतिस्पर्धासहित ‘एडु किकअफ’ फुटसल प्रतियोगिता सुरु गरेको छ। शिक्षा र अतिरिक्त क्रियाकलापलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भदौ ३ र ४ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्या फुटसलमा हुने भएको हो।

अगस्ट १३ मा खेल तालिका निर्धारणका लागि ‘टाइ–सिट ड्र’ सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी विद्यालयका कप्तान र प्रशिक्षक उपस्थित थिए। आयोजकका अनुसार, प्रतियोगिताले विद्यार्थीमा टिमवर्क, अनुशासन र नेतृत्व क्षमता विकाससँगै खेलकुदमा प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्नेछ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ६० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। दोस्रो हुनेले ३० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्त्ताले जनही पाँच–पाँच हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन्।

अल्फा बीटाका प्रमुख कार्यकारी द्वीराज शर्माले ‘एडु किकअफ’लाई प्रतिभा, ऊर्जा र स्वस्थ प्रतिस्पर्धाको उत्सव भएको बताए। प्रतियोगिता वेबेस्टर विश्वविद्यालय, आविला विश्वविद्यालय, शिखर इन्सुरेन्स, किबु एनर्जी ड्रिङ्क्स, अल्फा केयर, पियर्सन र सिद्धार्थ बैंकको सहकार्यमा आयोजना हुँदैछ।

कान्तिपुर संवाददाता

Link copied successfully