नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन एनसेल फाउन्डेसनको प्राथमिकतामा रहेको बताइएको छ ।
काठमाडौँ — एनसेल फाउन्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्ष समेटिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ प्रकाशन भएको छ ।
नारायणहिटी दरबार संग्रहालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नल विमोचन गरे । नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै उनले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे ।
हाल संग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको मन्त्री पाण्डेले जानकारी दिए । नेपालका संग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको उनको भनाइ छ । ‘कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं,’ एनसेलले भनेको छ ।
नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन एनसेल फाउन्डेसनको प्राथमिकतामा रहेको बताइएको छ । सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
