फोनपे अब पीएसआई डीएसएस प्रमाणित पीएसओ 

यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्था र नियामक निकायको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Phonepay Now PSI DSS Certified PSO

काठमाडौँ — भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डीएसएस) को लेभल १ सर्टिफिकेट प्राप्त गरेको छ ।

 यस प्रमाणपत्रले फोनपेले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण कारोबारमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्था र नियामक निकायको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ । ‘पीसीआई डीएसएसको लेभल १ भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्न गम्भीर प्राविधिक संरचना, नीति र निगरानी प्रणाली आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राख्न र सुरक्षा पूर्वाधार बलियो बनाउन गरेको कम्पनीको लगानी र प्रतिबद्धतालाई दर्शाउँछ ।’

यस प्रमाणपत्रले फोनपे पेमेन्ट नेटवर्कमाथि रहेका आफूहरूका साझेदार बैंक तथा वित्तीय संस्था, ई–वालेट तथा ग्राहकको डेटा सुरक्षामाथिको विश्वसनीयता थप सुदृढ गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully