कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण, एक लाख रुपैयाँ जित्ने १५ जना ग्राहकलाई प्रमाणिकरणको प्रक्रिया पूरा गरी पुरस्कार दिइने
What you should know
काठमाडौँ — एनसेलको बम्पर उपहार योजनाअन्तर्गत धादिङकी पार्वती कार्कीलाई बम्पर उपहारअन्तर्गत एक करोड रुपैयाँ पाएकी छिन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कार्कीलाई पुरस्कार हस्तान्तरण गरे ।
बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार पाएको बताइन्। ‘मैले जीवनमा धेरै दुःख भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ। मेरो सोच र संघर्षको परिणामस्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ। यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु,’ उनले भनिन्।
श्रीमान्लाई विदेश नफापेपछि उनले केही समय काठमाडौंमा व्यापार पनि गरिन्। तर केही महिनामै लाखौं रुपैयाँ घाटा भएपछि उनले श्रीमान्लाई पुनः विदेश पठाएकी थिइन्। 'अहिले पनि श्रीमान् विदेशमै छन् र केही ऋण बाँकी छ। श्रीमान्को स्वास्थ्य पनि राम्रो छैन। अब ऋण तिर्न रोगी शरीर घोट्नुपर्दैन। नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ। छोराको शिक्षामा पनि लगानी गर्नेछौं,' उनले सुनाइन्।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक पुरस्कारस्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार १२ हप्ताका लागि सञ्चालनमा ल्याइएको यो योजना पाँचौं हप्तामै, साउन १ गतेबाट, बन्द गरिएको थियो।
'सधैं एक करोडपति’ अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,' एनसेलका चिफ फाइनान्सियल अफिसर कबिरले भने। 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कथा आशाको कथा हो। यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्छ,' उनले भने, 'उहाँको यात्रामा भागीदार हुन पाउँदा हामी हर्षित छौं। उहाँले यो पुरस्कार रकम आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु। उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौं।'
उपभोक्ताको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्र योजनामा सहभागिता जनाएका ग्राहकलाई कम्पनीले प्रतिबद्धता अनुसार विजेता घोषणा गरी पुरस्कृत गरेको हो। कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र एक लाख रुपैयाँ जित्ने १५ जनालाई ग्राहकलाई प्रमाणिकरणको प्रक्रिया पूरा गरी पुरस्कार दिइने एनसेलले जनाएको छ।
